अन्तर्राष्ट्रिय

सशस्त्र समूहद्वारा, यूक्रेनमा बसमा रहेका २० व्यक्ति अपहरण

एजेन्सी । पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ ।

भोल्यान क्षेत्रको युक्रेनी सुरक्षा सेवा निर्देशनालयको सञ्चार केन्द्रका अनुसार सशस्त्र व्यक्तिले बेरेस्तेच्को–क्रासिलोभ्का मार्गमा रहेको स्थानीय बसलाई नियन्त्रणमा लिई बसभित्र रहेका यात्रुहरूलाई अपहरण गरेको हो ।

“आज बिहान बेरेस्तेच्को–क्रासिलोभ्काबाट एक बसलाई कब्जा गर्ने व्यक्तिको परिचय स्थापित भइरहेको छ । उक्त व्यक्तिले कुनै स्पष्ट मागहरू गरेको छैन । उक्त व्यक्तिले समय–समयमा आफ्नोे बन्दुकबाट गोली चलाएको तर सबै जना सकुशल रहेको ।” केन्द्रलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

क्षेत्रीय प्रहरी कार्यालयले उक्त क्षेत्रमा एउटा अपरेशनल योजना ‘होस्टगेज’ थालिएको छ र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न शहरको मध्यभाग बन्द छ ।

यसैबीच युक्रेनको फौजदारी अनुसन्धान विभागले उक्त व्यक्तिसँग ग्रेनेड र अन्य स्वचालित हतियारसहित ठूलो संख्यामा हतियार रहेको बताएको छ । उक्त व्यक्तिले शहरमा एउटा विस्फोटक पदार्थ छोडेको आशङ्का गरिएको छ ।