बाग्मती

भरतपुर अस्पतालमा स्क्रब टाइफसबाट एककाे मृत्यु

६ साउन, चितवन । भरतपुर अस्पतालमा उपचाररत् स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती विरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ ।

उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए । उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ ।

मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अङ्ग दुख्ने लक्षण देखिन्छ । मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।