राजनीति

नेताहरुको कोठे बैठकले कांग्रेसलाई नोक्सान पुर्याउँछः नेता भण्डारी

६ साउन काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका छन् ।

अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताएका छन् ।

नेता भण्डारीले भने, “बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।” बिपीले सधैं आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पुर्याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर काँग्रेस बलियो नहुने तर्क गरेका छन् । “आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ”, नेता भण्डारीले भने ।

काँग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पुर्याएको योगदान सधैं अविष्मरणीय रहने बताएका छन् । “बिपीको लोकतन्त्रप्रतिको निष्ठा सधै अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन काँग्रेसका कार्यकर्ता लाग्नुपर्छ”, उनले भने ।

बिपी स्मृतिको दिवसमा नेपाली काँग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिएका छन् । सो क्रममा आँप, बेल, अशोक, कपुर लगायतका २२५ बिरुवा रोपिएको थियो ।