समाचार

मुलुकैभर लगातार भारी वार्षाः सप्तकोशीमा पानीको बहाब उच्च, ४८ ढोका खोलियो, सर्तक रहन आग्रह

६ साउन काठमाडौं । मुलुकैभरी केहि दिनदेखी लगातार जारी वर्षाका कारण विभिन्न नदि – नालामा पानीको सतह बढेको छ ।

यसैक्रममा सप्तकोशी नदिमा आएको बाढीले खतराको तह पार गरेको छ । आज मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४८ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

यस्तै आज (मंगलबार) पनि देशका बिभिन्न स्थानमा वर्षा भईरहेको छ । केही दिनदेखी परेको पानी आज पनि देशभर परेको छ । मनसुनी वायुको प्रभावले आइतबार राति देखी काठमाडौं उपत्यकालगायत देशभर नै पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थान र गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । भोली पनि देशका बिभिन्न स्थानमा पानी पर्ने समभावना रहेको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ ।