पु.समाचार

प्रहरी महानिरीक्षकको मातहतका प्रहरीलाई निर्देशनः कानून कार्यान्वयनमा नचुक्नुस्

५ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्देशन दिएका हुन् ।

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उनले बताए । अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उनले प्रहरी सङ्गठनले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्ने बताए ।

कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुनसक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिए । सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी महानिरीक्षकबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता थियो ।

‘लिडार स्पिड गन’ हस्तान्तरण

यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई आठ थान ‘लिडार स्पिड गन’ प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभागका महानिर्देशक गोगनबहादुर हमालले रु ८४ लाख मूल्यबराबरका उक्त गन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन प्रदान गरेकामा विभागलाई धन्यवाद दिए ।

विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताए । समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान, स्मार्ट लाइसेन्स वितरणलगायतका कार्य गरिरहेको जानकारी दिए ।