पु.समाचार

अझै पाँच दिन भारीवर्षा, सही सूचना दिन मन्त्री पुनको निर्देशन

५ साउन, काठमाडौ । न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ ।

उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए ।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए । उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।

महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।

यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताए । “यो पछिल्लो २४ घण्टाको विवरण हो”, बैद्यले भने, “यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।”

नारायणीमा खतराको तह नाघ्यो

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । उक्त स्थानमा जलसतह आठ मिटर नाघेपछि खतराको तह पार हुनेमा नौ मिटर माथि आइसकेको छ ।

वर्षात् नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । सो स्थानमा जलसतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमा जलसतहले ११.९८ मिटर पार गरेको बैद्यले बताए ।

विभागले खतराको तह पार गरेको स्थानको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तहपार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वी नपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनि सकिएको बैद्यले जानकारी दिए ।

यस्तै कोशीमा सतर्कताको तहपार गरेकाले मङ्गलबारसम्म खतराको तहपार गर्नसक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्नसक्ने अनुमान विभागले गरेको छ ।

यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा शुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिना पछिसम्म पानीपर्ने देखिएको छ ।

चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षात् हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षात्को दर उच्च रहेको छ । मनसुन हुने चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढीपर्ने समय हो ।

यस पटक मनसुनको शुरुदेखि नै अत्यधिक पानी परिरहेको छ यो क्रम आगामी कात्तिकसम्म जारी रहनेछ । एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उनले जानकारी दिए ।

हरेक मनसुनमा बाढी पहिराका कारण हुने क्षति घटीबढी हुने भन्दै बैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताए ।

हरेक दिन मिडिया ब्रिफिङ

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए ।

“पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्नसक्ने आधार बनाएका छौँ”, मन्त्री पुनले भने, “आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।” उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्व सूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए । “बाढी र पहिराको सही सूचना सही समयमा दिऔँ, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस्” मन्त्री पुनले भने ।

यस्तै बाढीपहिराको सूचनालाई थप प्रभावकारी बनाउन मङ्गलबारदेखि अधिक वर्षात् नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए । विभागले सोमबारदेखि अरेक दिन बिहान ११ः०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने तयारी गरेको छ ।