पु.समाचार

मन्त्री डा खतिवडा र युरोपेली सङ्घका राजदूत भेरोनिका बिच शिष्टाचार भेटवार्ता

५ साउन, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडा र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ ।

अर्थमन्त्री डा खतिवडासँग शिष्टाचार भेटका लागि पुगेका कोडीबीच युरोपेली सङ्घले नेपालको आर्थिक विकासमा पर्याएको महत्वपूर्ण सहयोगका विधि पाटोका बारेमा छलफल भएको थियो ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी ब्रसेल्स फर्कन लाग्नुभएका राजदूत कोडीले बिदाइ भेट गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा खतिवडाले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाइमा लैजान इच्छुक रहेको र सबल युरोपको पक्षमा आफू रहेको बताए ।

उनले सङ्घले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउनसक्ने विश्वास व्यक्त गर्दै नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिबिम्वित गरेको उल्लेख गरे ।

आर्थिक/वित्तीय/श्रमलगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिबद्धता सुदृढ गरेको कुरा जानकारी गराएका थिए ।

त्यस्तै उनले बजेट सहयोग, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा गरिने कार्यलाई नतिजासँग आवद्ध गर्ने प्रयास गरिएको उल्लेख गरे । अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलगायत हवाई सुरक्षासम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन अनुरोध गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

उनले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरापेली सङ्घबीच सहकार्य रहेको बताउँदै साझा हितका सवालमा सँगसँगै प्रगति गर्दै जानुपर्नेमा जोड दिँदै राजदूतको नेपालको कार्यकाल सफल रहेको र आगामी कार्यक्षेत्रमा समेत नेपाललाई सक्दो सहयोगको अपेक्षासहित सफल यात्राको कामना व्यक्त गरेका थिए ।

राजदूत कोडीले नेपालमा आफूले तीन वर्षको सफल कार्यकाल समापन पछि केन्द्रीय कार्यालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पु¥याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिएका थिए ।

नेपालले युरापेली सङ्घसँगको सहकार्यमा राम्रो कार्य गरिरहेको आफ्नो धारणा व्यक्त गर्दै युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र बजेट सहयोगलगायत कोभिड—१९ सम्बन्धी सहयोगसमेत आगामी दिनमा निरन्तर रहने कुरा उनले जानकारी गराए ।

राजदूत कोडीले युरोपियन युनियनको सातवर्षे सहायता चक्र यसै वर्ष समापन भई अर्को चरणको सातवर्षे चक्र थालनी हुने हुँदा त्यसमा समेत नेपाललाई प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पहिलो चरणमा ३६० मिलियन युरो बराबरको सहायताबाट शिक्षा, स्वास्थ्य, पोषण, पूर्वाधार, कृषि, मानव स्रोत विकास, लगानी, जलवायु परिवर्तनलगायतका क्षेत्रमा सहयोग गरिएको जानकारी दिँदै उनले आगामी सहायतामा यी क्षेत्रको अतिरिक्त स्थानीय विकास, श्रम बजार, डिजिटलाइजेशन लगानी समिश्रण, बजेट सहायता र हरित विकासजस्ता क्षेत्रमा सहायता परिचालन गर्ने बताएको अर्थ मन्त्रालयले जनाएको छ ।