उर्जा

डुङुरीखोलामा आएको बाढीले जलविद्युत्मा क्षति

५ साउन, दार्चुला । डुङुरीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसमा क्षति पुर्याएको छ । आइतबार राति आएको अविरल वर्षासँगैको डुङुरीमा रहेको पावरहाउसभित्र बाढी पसेपछि क्षति पुर्याएको हो ।

पावरहाउसभित्र झण्डै तीन फिट पानी जमेको छ । पावरहाउसभित्रका उपकरणमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए। “विद्युत गृहमा ठूलै क्षति पुगेको छ, विद्युत् सञ्चालनमा ल्याउन दुई साता बढी समय लाग्न सक्छ”, उनले भने, उपकरण के के बिग्रियो भन्ने जानकारी आएको छैन, पावरहाउसभित्रको पानी निकासका लागि डोजर र कर्मचारी खटाइएको छ ।”

उनका अनुसार दुई सय किलोवाट क्षमता रहेको डुङुरी जलविद्युत् अवरुद्ध भएपछि जिल्लामै विद्युत्मा समस्या हुने भएको छ । डुङुरीबाट उत्पादन गरिएको विद्युत् महाकाली नगरपालिकाको वडा नम्बर २, ३ व्यासलगायतका झण्डै एक हजार ५०० घरधुरीसम्म पुर्याइएको थियो । यो क्षेत्रमा विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनबाटै विद्युत् दिने तयारी गरिएको वितरण केन्द्र प्रमुख शाहको भनाइ छ ।

डुङुरी मन्दिर क्षेत्रबाट नदी सिधैँ पावरहाउसभित्र पसेको स्थानीय विजय ऐरीले बताए । मेशिन पूरै डुबेका छन् । भित्र प्रवेश गर्न सकिने अवस्था छैन । यस्तै पावरहाउससँगै रहेको एक पसलमासमेत बाढीले क्षति पुर्याएको छ । पार्किङ गरी राखिएको जीप खोलामा फसेको छ ।

खार खलङ्गा सडकअन्तर्गतपर्ने डुङुरी पावरहाउस क्षेत्रसम्म पुग्नै समस्या भएको छ । बङ्गाबगड क्षेत्रमा सडक पूरै लास्कु खोलाले बगाएपछि पाउँरहाउससम्म जाने बाटो अवरुद्ध भएको बताइएको छ ।

यसैगरी बाढी पहिराका कारण नौगाड गाउँपालिकाभरीका लघु जलविद्युत्मा क्षति पुगेको छ । लघुजलविद्युत्का पावरहाउस खोला किनारमा रहेका कारण पहिरा र नदी कटानको जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।