गण्डकी प्रदेश

प्रदेश विकास समितिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

५ साउन, गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश विकास समितिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा सदस्य प्रभा कोइरला, प्रकाशचन्द्र दवाडी र मधु अधिकारी गुरुङले विधेयकको प्रभावकारी कार्यान्वयनलगायतमा जोड दिएका थिए ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले विगतमा विकास समिति गठनका लागि मन्त्रिपरिषद्बाट गठन आदेश गरिएको बताउँदै त्यसका आधारमा लामो समयसम्म समितिहरू गठन गरिरहन उपयुक्त नहुने महसुस गर्दै विधेयक ल्याइएको स्पष्ट पारे । आइतबार गठन आदेशबाट गठित समिति आगामी दिनमा यसै विधेयकमार्फत मान्य हुने उनले बताए ।

आजको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारलाई सबैलाई समेटेर बढ्न आग्रह गरे । विद्यमान महामारीका अवस्थामा अझै पनि पूर्वाधार तथा उपकरणको अभाव रहेको उनले बताए । कोरोना महामारी लक्षित गरी राखिएको कोषको प्रभावकारी तथा पारदर्शी वितरण हुनुपर्नेमा जोड दिँदै उनले स्वदेश एवं विदेशमा रोजगारी गुमाएका युवाको तथ्याङ्क लिएर उनीहरूको सीप तथा क्षमताका आधारमा स्वरोजगारी अभिवृद्धि गर्नुपर्ने बताए ।

बैठकको विशेष समयमा सदस्य दीपक कोइराला र हरिशरण आचार्य एवं शून्य समयमा प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र प्रकाशचन्द्र दवाडीले बाढी पहिराका कारण परिरहेको प्रभावलगायतमा सरकारको ध्यानकर्षण गराए । अर्को बैठक यही साउन ११ गते दिनको ११ः०० बजे बस्नेछ ।