बाग्मती

बागमती प्रदेशसभाको सुशासनसम्बन्धी विधेयक पारित

५ साउन, हेटौँडा । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विधेयकलाई पारित गरियोस् भनि प्रस्ताब टेबुल गर्नुभएको थियो । उक्त विधेयकको छलफलमाथि उठेका प्रश्नको मुख्यमन्त्री पौडेलले जवाफ दिनुहुँदै प्रदेशमा सुशासन ल्याई जनतालाई शान्तिसुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई ऐनले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्न विधेयकले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

उनले सत्तापक्ष र प्रतिपक्षका सदस्यले राख्नुभएका सुझाव र जिज्ञासालाई आफ्नो मन्त्रिपरिषद्ले आत्मसात् गर्ने र प्रदेशमा सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्ने अभियानलाई सरकारले उच्च प्राथमिकता दिने र सरकारको नीति कार्यक्रमलाई पारदर्शी तथा निष्पक्ष ढङ्गबाट कार्य सम्पादन गर्न चालु आव २०७७/०७८ का लागि सरकारले कार्य सम्पादन करार सम्झौता गरिएको बताए ।

बैठकमा विशेष समयमा बोल्नुहुने सत्तापक्षका सांसदले चितवनको माडी नगरपालिका–९ कुसुमेखोलामा रहेका दुई घरलाई वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले आगो लगाइदिएको र ती परिवारलाई अहिले विचल्ली बनाएकामा दुःख प्रकट गर्दै ती परिवारलाई तत्कालै राहत उपलब्ध गराई बसोबास गराउन माग गरे ।

उनीहरुले सोही वडाका आठ घर परिवारलाई पनि सुरक्षाकर्मीद्वारा हात्ती परिचालन गरी घर भत्काई विचल्ली तुल्याइएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले सङ्घीय सरकारमार्फत सहकार्य गरी ती पीडित परिवारलाई राहत वितरण गर्न र आवास गृह निर्माणका लागि प्रक्रिया शुरु गराउन माग गरे ।

उनहरुले सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुलीमा बाढीपहिराबाट भएको जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी गर्न र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराई बसोबासको यथाशीघ्र प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए।

बाढीपहिराबाट प्रभावित जनताका घर, गोठ र धानबाली जोगाउन तटबन्धन निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयल र आन्तरिक मामिला तथा कानून मन्त्रालयले आपसमा समन्वय गरी जिल्ला विपद् व्यवस्थापनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई ती क्षेत्रहरुमा अनुगमन गर्नसमेत उनीहरुले आग्रह गरे ।

सोही बैठकमा सत्तापक्षका सदस्य क्रमशः बद्री मैनाली, लालकुमारी पुन, शान्तिप्रसाद पौडेल, विनोदकुमार भट्ट, विजय सुवेदी, प्रकाश श्रेष्ठ र सरस्वती बाटी विशेष समयमा सहभागी थीए ।