सुदूरपश्चिम

व्यासको गागामा पुल बन्दैः सामान पुर्याइँदै

५ साउन, दार्चुला । व्यास गाउँपालिका–१ छांगरु गागामा निर्माण गरिन लागेको झोलुङ्गे पुल निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छांगरु र तिंकरका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणका सामान ढुवानी शुरु गरिएको हो । तिंकर र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङ्गे पुल निर्माण गरिन लागेको हो । झोलुङ्गे पुलको काम शुरु गर्नका लागि हेलिकप्टरमार्फत ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिए ।

ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । पुल निर्माणका लागि हेल्पटास नेपाल र डोलीडारको आर्थिक तथा समाजकल्याण समाज दार्चुलाका प्राविधिक सहयोग र गाउँपालिका व्यासका सहयोगमा झोलुङ्गे पुल निर्माण हुन लागेको हो ।

स्वीस सरकारको ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको चार लाख ७९ हजार ६३९ गरी कूल ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको हो । “सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छांगरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाजकल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भने, “तैपनि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्दैछौँ । पुल झण्डै ६७ मिटर लम्बाइको हुनेछ ।”

यस क्षेत्रमा झोलुङ्गे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो २०० का दरले ढुवानी गरिँदैछ । झोलुङ्गे पुलका लागि चाहिने लठ्ठालगायत सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताए । विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी ढुवानी हुँदै आएकामा यस पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो । भारतबाट सामान ढुवानी गर्दा केही सस्तो पर्न जाने भए पनि यस पटक बन्दाबन्दीले सम्भव हुन सकेन ।

गागामा पुल निर्माण आगामी कात्तिकभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाजकल्याण समाजका अध्यक्ष ठगुन्ना बताए। विगतमा यस क्षेत्रमा काठेपुलमार्फत आवतजावत हुँदै आएको छ । काठेपुल विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । साइड तथा भेरिफिकेशनका लागि प्राविधिक हरिश ठगुन्नालाई व्यास पठाइँदैछ । पुलका लागि चाहिने लठ्ठासँगै तारजाली, ग्याबिन तार, फलामे सामानलगायत हेलिकप्टरमार्फत पठाइँदै छ ।