कृषि

किसानसँग गाउँ सरकार कार्यक्रम’ निरन्तर

५ साउन, झिमरुक । सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि रु ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आव ०७५/७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तररुपमा चलिरहेको छ । कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहरुमा बाख्रापालन, मौरीपालन, केराखेती, धानखेती र अदुवाखेतीका लागि किसानलाई अनुदानका कार्यक्रम सञ्चालन भएका थिए ।

चालू आवमा भने यस कार्यक्रममार्फत कोभिड–१९ का कारण सिर्जित प्रतिकूल अवस्थालाई अवसरका रुपमा लिइ रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । कोरोना सङ्क्रमणका समयमा भारत तथा तेस्रो मुलुकबाट पालिका क्षेत्रभित्र आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुसँंग छलफल गर्ने, काम गर्न इच्छुक व्यक्तिको प्रस्तावना माग गर्ने, तालिम प्रदान गर्ने र सोहीअनुसार पालिकाले सहयोग गर्ने उनले बताए ।

व्यावसायिक कृषि, पशुपालन, माहुरीपालन, बीउ उत्पादनलगायतमा उनीहरुलाई अनुदान दिइने पालिकाले जनाएको छ । पालिकाले चालू आवमा किसानसँग गाउँ सरकारका लागि प्रदेश र गाउँपालिकामार्फत रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । यसमार्फत ७० लाख वडा नं १ र २ का जनतालाई सिँचाइको सहजताका लागि बाङ्गेशाल सिँचाइ आयोजनाको काम गरिनेछ भने रु ७० लाख रोजगार गुमाएका व्यक्तिलाई स्वरोजगारमा खर्च गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए ।

गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ का लागि आव ०७६/०७७ मा एक करोड र आव ०७५÷०७६ मा ५० लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाले चालू आवमा छोरी पेवा बचत र अनाथ बालबालिकालाई भत्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँसमाजमा छोरी भएकै कारण हुने भु्रणहत्या, बालविवाह, आर्थिक समस्याका कारण बिचैमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि पालिकाले आर्थिक वर्ष ०७५/७६ बाट सञ्चालन भएको कार्यक्रमलाई चालू आवमा पनि सञ्चालन गरिने अध्यक्ष विश्वकर्माले बताए ।

पालिकाले यस कार्यक्रममार्फत पालिका क्षेत्रमा जन्मने छोरीको वडा कार्यालयको सिफारिसका आधारमा पालिकाभित्र रहेका सहकारी ऐरावती बहुद्देश्य साना किसान सहकारी संस्था र साना किसान कृषि सहकारी सङ्घमा बचत गर्ने गरेको छ । अघिल्लो आवमा वर्षमा मासिक रु २०० छोरीले जम्मा गरेका थिए भने चालू आवमा मासिक ३०० जम्मा हुनेछ । यस कार्यक्रमका लागि चालू आवमा चार लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै पालिकाले संरक्षकविहीन अनाथ बालबालिकालाई मासिक भत्ता दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । संरक्षकविहीन बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको हो । यसमार्फत अनाथ बालबालिकाले मासिक एक हजार पाउनेछन् । जसका लागि रु आठ लाख ५० हजार बजेट विनियोजन भएको पालिका अध्यक्ष विश्वकर्माले बताए ।