पर्यटन/संस्कृति

आज साउनको पहिलो सोमबारः लकडाउका कारण यसवर्ष पशुपति मन्दिरमा सुनसान

५ साउन काठमाडौं । यस वर्ष साउनको पहिलो सोमबार आज । लकडाउनका कारण अघिल्ला वर्षहरुमा पशुपतिमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष पशुपति मन्दिर सुनसान जस्तै छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर खोल्न असमर्थ रहेको जनाएको छ ।

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर आज पनि नखुल्ने भएको हो । सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिएका छन् ।

उनले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजापाठ गर्न कोषले आग्रह गरेको हो ।

यस्तै कोरोना कहरकैबीच पशुपति क्षेत्र विकास कोषले चाँडै नै दर्शनार्थीका लागि मन्दिर खुलाउने तयारी गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले दर्शनार्थीको लागि मन्दिर खोलेपछि सबैभन्दा पहिले व्यक्ति व्यक्तिबीचको दूरीलाई कायम गर्ने जनाएका छन् । दूरी कायम गर्न कोषले मन्दिर प्रवेश गर्ने र मन्दिरबाट बाहिरिने ढोकासँगै बाटो छुट्याउने छ । यस्तै ठाउँ ठाउँमा साबुनपानीले हात धुने व्यवस्था गरिनेछ भने स्यानिटाइजर पनि राखिनेछ । यस्तै मास्कलाई अनिवार्य गरिनेछ ।

तर मन्दिर खुले पनि पहिलेको जस्तो लाइनमा उभिएर दर्शन भने गर्न पाईने छैन । भक्तजनले चढाउन ल्याएको फूलमालासहितको सामग्री बाहिरै राख्नुपर्नेछ र कोषले बनाएको नियम अनुसार दर्शनार्थीले मन्दिरको दर्शन गर्नुपर्ने हुन्छ । सरकारले साउन ७ गतेसम्म लकडाउन गरेकाले यसपछि हुने थप निर्णय पर्खेर मन्दिर खोल्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । साउनको दोस्रो सोमबार भने सुरक्षा मापदण्ड पूरा गरेर मन्दिर खोल्ने कोषको तयारी छ, तर निर्णय भने भईसकेको छैन ।

यस्तै पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने आज पनि हुनेछ । लकडाउनका बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भईरहेकै छ । यस्तै बेलुका हुने आरती पनि विधिपूर्वक एक जनाले गर्दै आएका छन् ।