अन्तर्राष्ट्रिय

सोमालियामा अल–शबाबका सात लडाकू मारिए

एजेन्सी । अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कारबाहीमा इस्लामिक विद्रोही समूह अल–शबाबका छ जना लडाकूको मृत्यु भएको छ । सेनाका एक कमान्डर अडेन मोहमद इब्राहिमका अनुसार ती लडाकूहरु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैनिक कारबाहीमा मारिएका हुन् ।

इब्राहिमले कोबान र बुला हाजी गाउँमा सेना र विद्रोहीबीच भिषण संघर्ष भएको पनि बताए । सैन्य कारबाहीका क्रममा धेरै वटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हातहतियार बरामद भएको उनले दाबी गरेका छन् । गत जुलाई १२ मा पनि बे क्षेत्रको दक्षिणी भागमा सेनाले गरेको अर्को कारबाहीमा सात जना अल–शबाबका लडाकू मारिएका थिए भने केही घाइते भएका थिए ।

यसैबीच, सोमालियाका आन्तरिक सुरक्षा मन्त्री अब्दिनासिर सइद मुसे एउटा हत्या प्रयासबाट बचेका छन् । राजधानी मोगादिशु बाहिर होडान जिल्लाको भ्रमणका क्रममा सडक किनारामा थापिएको विद्युतीय धरापमा उनको सवारी साधन परेको थियो, तर सुरक्षा निकायहरुले उनि अर्को सवारी साधनमा चढेकाले बाँच्न सफल भएको बताएका छन् । उक्त घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।