बाग्मती

होटलका मजदूर कर्मचारीले न्यूनतम सुविधा पाउने

४ साउन, काठमाडौँ । होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो ।

कोभिड–१९ महामारीबाट सिर्जित अवस्था आगामी डिसेम्बर ३१ सम्म रहने आकलन गरी अप्रिल १३ देखि डिसेम्बर ३१ सम्मको अवधिका लागि सम्झौता भएको हानले जनाएको छ । नयाँ सम्झौताअनुसार अब होटलमा कार्यरत मजदूरले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउनेछन् । दुई सय बढी कोठा भएका होटलमा कार्यरत श्रमिक कर्मचारीले मासिक १० हजार पाउनेछन् । त्यस्तै २०० भन्दा कम कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले रु नौ हजार पाउनेछन् । त्यस्तै १०० भन्दाबढी कोठा भएको चारतारे होटलमा कार्यरत मजदूरले आठ हजार ४५५ पाउनेछन् ।

एकसय भन्दा कम कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा आठ हजार पाउनेछन् भने तीनतारे होटल वा सोहीसरहका रिसोर्टका मजदूरले रु पाँच हजार पाउने जनाइएको छ ।

यस्तै दुईतारे होटलले महिनामा प्रतिमजदूर चार हजार ३०० तथा एकतारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताका आधारमा सुविधा उपलब्ध हुने भनिएको छ । होटल व्यवसायी र मजदूर सङ्गठनबीच विभिन्न चरणमा बैठक भई ‘बाँचौँ र बचाऔँ’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको हानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्झौताले दुःखका बेलामा पारिवारिक एकतासमेत प्रदर्शित भएको हानको ठम्याइ छ ।

साथै हानले शुक्रबार नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।