समाचार

सीमा पोष्टमाथि फेरि भारतीय समूहको आक्रमण

४ साउन, दमक । झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोष्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिबार राति ९ः१५ मिनेट समयमा करिब ४० र ५० जनाको सङ्ख्यामा आएका घरेलु हतियारधारीको एक समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् । घाइते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताइएको छ ।

डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३०० मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगङ्जका प्रहरी निरीक्षक साइमण श्रेष्ठले बताए। झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।

हवाइफायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेका प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ । लामो समयसम्म लकडाउनका कारण सीमाक्षेत्रमा सशस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र बनाउँदै आएपछि तस्करीले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन् । यसअघिसमेत झापा गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।