बाग्मती

कोरोना र साउने झरीको वास्ता नगरी सफाइमा अभियानकर्मी

३ साउन, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण राजधानीमा फैलने डर एवं साउने झरीका बीच उपत्यकाका सफाइ अभियानकर्मीका पाइला भने रोकिएनन् ।

प्रत्येक हप्ता शनिबार बिहान सात बजे जस्तै आज पनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा भेला भए । ‘राष्ट्र सेवाका लागि हप्तामा दुई घण्टा’ भन्ने नाराका साथ वर्षे झरी, चाड पर्व, भूकम्प, कोरोना जस्ता प्रतिकुल अवस्थामा पनि अभियानकर्मी सक्रिय हुने गरेका छन् । चैत दोस्रो सातादेखि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनार नजिक निवास हुने अभियानकर्मीले नदीमै पुगेर सफाइ गर्ने अभियानलाई निरन्तरता दिएका छन् ।

यस क्रममा आज ३७५ औँ हप्ताको वाग्मती सफाइ पशुपति र शङ्खमूल नदी किनारमा सम्पन्न भएको छ । पशुपति क्षेत्रको सफाइ अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा भएको थियो ।

यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भयो । यस क्षेत्रको मनोहरा वाग्मती दोभानमा भएको सफाइमा नदी किनारमा पसल चलाएर बस्नेलाई पनि सहभागी गराइएको अभियानकर्मी पौडेलले सुनाए । व्यवसायीलाई आगामी दिनमा पनि पसल अघि सफा गर्न जनचेतनामूलक अभियान समेत सञ्चालन गरिएको थियो ।

त्यस क्षेत्रमा कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापन गरिएको थियो । सफाइमा श्री हनुमान मार्ग टोल सुधार समिति, अभियानकर्मीहरु प्रिया लामिछाने, रामशरण कार्की, दुर्गा दुलाल लगायत स्थानीयवासीको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३३५ औँ हप्तामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनिको असहाय बाच्छा बाच्छी संरक्षण स्थल नजिकैको वाग्मती किनारमा सफाइ गरिएको थियो । मनैदेखि वाग्मती सफाइ हुनुपर्ने नारासहित प्रतिकुल अवस्थामा पनि यस क्षेत्रको सफाइलाई निरन्तरता दिँदै आएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।

आलोकनगर सफाइ अभियानको १७४ औँ हप्तामा तिनकुने वाग्मती किनारमा सफाइ गरियो । काठमाडौँ निर्वाचन क्षेत्र नं। १ का सङ्घीय सांसद प्रकाशमान सिंहको सहयोगबाट स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत सिद्धि विनायक, शोभा भगवती र लोकेश्वर महादेव मन्दिर निर्माण भएकामा त्यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । उपभोक्ता समितिमार्फत् भइरहेको काममा स्वास्थ्य सुधारका लागि व्यायामशालाको पनि निर्माण गरिएको छ । साउने झरीमा छाता ओढेर भएको यस क्षेत्रको सफाइका क्रममा अभियानकर्मी शिखा मास्केको जन्मदिनका अवसरमा नदी किनारमा विभिन्न जातका बिरुवा रोपिएको थियो ।

कार्यक्रममा सहसचिव किशोर जोशीले अभियानकर्मीलाई औषधीय गुणले युक्त वनस्पति गुर्जोको बिरुवा हस्तान्तरण गर्नुभएको थियो । रोग प्रतिरोधी क्षमता विकासका लागि गुर्जो उपयोगी वनस्पति भएको उल्लेख गर्नुहुँदै उहाँले घर घरमा यो बिरुवा रोप्न अभियानकर्मीलाई आग्रह गरे। कार्यक्रमको संयोजन अभियानकर्मीहरु प्रमिला पौडेल र ध्रुव पोखरेलले गरेका थिए ।

चक्रपथ पश्चिम क्षेत्र सफाइको १६१ औँ हप्ताका अवसरमा कोरोनाबाट पीडित वाफल क्षेत्रमा बसोवास गर्ने विपन्न २२ परिवारलाई राहत वितरण गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले सुनाए । चामल, दाल, नुन लगायत सामग्री वितरण गरिएको थियो ।

ललितपुरस्थित गोदावरी खोला सफाइ अभियानको ७२ औँ हप्तामा नदी क्षेत्र, सार्वजनिक स्थल र टोल टोलमा सफाइ गरिएको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिए । सबै क्षेत्रको सफाइ कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सुरक्षाका विधि अपनाएर गरिएको अभियानकर्मीले जनाएका छन् ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथ लगायत राजधानीमा शुरु भएको थियो । वाग्मती सफाइ अभियानबाट प्रभावित भई देशभरका १०६ भन्दा बढी स्थानमा यसले बिस्तार हुने अवसर पाएको छ । मुख्य मुख्य शहरमा सफाइ अभियानले निरन्तरता पाएको छ ।

कोरोनाका कारण गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण नदी किनार नजिकै बस्नुहुने अभियानकर्मीले यसलाई निरन्तरता दिएका छन् । अन्य अभियानकर्मीले पनि आ—आफ्नो टोल टोलमा सफाइ गरिरहेको जनाइएको छ ।