कर्णाली प्रदेश

कर्णाली राजमार्गमा सडक अवरुद्ध

३ साउन, मान्म । कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् । लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ ।

जिल्लाको टाकुल्ला, चौखोलालगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ । पछिल्लो समयमा दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

सडक सञ्चालनका लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।