खेलकुद

३४ औं पटक ला लिगाको उपाधि रियललाई

एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।

यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६र१७ को सिजन रियलले उपाधि जितेको थियो ।

अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए । पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।

खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २–१ ले विजयी भयो ।

यस्तै खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन ।

भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ । बार्सिलोना बिहीबार राति नै ओसासुनासँग २-१ ले पराजित भएको छ ।