अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाका कारण कैदीको सङ्ख्यामा आठ प्रतिशत कमी

१ साउन, रिचमण्ड । अमेरिकामा कारोनाभाइरसको महामारीका कारण कारागारमा राखिएकाहरुको सङ्ख्यामा आठ प्रतिशतले कमी आएको छ ।

कैद भुक्तान गर्न छोटो समय रहेकाहरुलाई त्यो समयको छुट दिएर रिहा गरिएको छ भने कतिपयलाई स्वास्थ्य अवस्था र आचरणलाई हेरेर कैद अवधिमा छुट दिएर रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा कैद सजाय भोगिरहेका धेरै मानिस बारका कारण कैदी जीवन विताउनु परेको तथ्याङ्कले देखाएको छ ।

गत मार्च र जुन महिनाको बीचमा अमेरिकाको केन्द्रीय तथा प्रान्तीय कारागारबाट एक लाखभन्दा बढीले कैदी जीवनबाट छुटकारा भएका छन् । एक अध्ययनले यो सङ्ख्याबाट कुल कैदीको सङ्ख्यामा झण्डै आठ प्रतिशत कमी आएको देखाएको छ ।

एकातिर कारागारबाट फर्किनेको सङ्ख्या बढेको र अर्कातिर कारागारमा आउनेको सङ्ख्या घटेकाले पनि कुल कैदीको सङ्ख्यामा कमी भएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाका कारण केही समय अदालत बन्द भएकाले सुनुवाई कमी भएकाले कतिपय मुद्दामा दोषी ठहरिएर कारागार चलान हुनेहरुको सङ्ख्यामा पनि कमी आएको विश्लेषण गरिएको छ ।

त्यसैगरी कोरोनाभाइरसको त्रासले अन्य मुद्दामामिलातर्फ मानिसको ध्यान नगएको र अदालत बन्द हुँदा दर्ता गर्न पनि गाह्रो भएकाले पनि अदालतमा मुद्दासमेत कम परेको अधिकारीहरुले बताएका छन् । उनीहरुले अहिले रोकिएका मुद्दा सङ्ख्या कोरोनाको त्रास कम भएपछि भने फेरी बढ्न सक्ने अनुमान पनि गरेका छन् ।