गण्डकी प्रदेश

तनहुँ पहिरो अपडेटः मृतकको सङ्ख्या पुग्यो ११ जना

३० असार, दमौली । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । यो सँँगै तनहुँमा पहिराले पुरिएर निधन हुनेको सङ्ख्य ११ पुगेको छ । यसअघि सोमबार दश जनाको शव फेला परेको छ । व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ ।

पहिराले पुरिएर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका पाँच, व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजको श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै ५ वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थाापा र निजको श्रीमती १९ वर्षीया मनिसरा थापा, व्यास नगरपालिका–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अन्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको पहिराले पुरिएर मृत्यु भएको थियो ।

पहिराले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा, सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवर र ऋषिङ गाउँँपालिका–८ भैँसीकिलोका ६० वर्षीय ज्योतिमाया थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।