आर्थिक

काँग्रेसवारा गभर्नर अधिकारीलाई अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्न दबाब

३० असार, काठमाडौँ । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले बिभिन्न व्यक्री तथा संस्थाहरुसँग छलफल गर्ने कार्यक्रम यथावत राखेको छ । नेपाली कांग्रेस ‘कोभिड—१९ अनुगमन समिति’ का संयोजक एवं नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनरसँग आज भेटवार्ता गरेको छ ।

आजको भेटमा—कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेशागत समूह, उद्योगी÷व्यवसायीहरुसँग समितिले अनुगमनका क्रममा विभिन्न चरणमा गरेको छलफल पछि प्राप्त सुझावहरुको आधारमा सरकारले बजेट मार्फत समस्यामा परेका ती क्षेत्रहरुलाई सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रिक नीति मार्फत प्रभावित क्षेत्रहरुलाई सम्बोधन गर्न प्रतिनिधिमण्डलले सुझाव दिएको छ । राष्ट्र बैंकले तय गर्ने व्याजदर र सुविधाहरु बैंकहरु मार्फत लगानीकर्तासम्म पु¥याउन पर्ने जसले गर्दा रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक डा. महतले धारणा व्यक्त गरेका थिए ।

विशेषतः यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योग लगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरु अनुकूल मौद्रिक नीति ल्याएमा कोभिड—१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनिकरण गर्दै जान सकिने धारणा व्यक्त गरेका छन्।

उक्त प्रतिनिधिमण्डलमा पार्टीका केन्द्रीय सदस्य एवं समितिका सदस्यहरु— एन.पी. साउँद र डा. चन्द्र भण्डारी, समितिका सदस्यहरु— राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे र डा. प्रभु बुढाथोकी सहभागी रहेको सदस्य–सचिव डा. प्रदीप पराजुली जानकारी दिएका छन् ।