खेलकुद

म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो

३० असार एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी खेल्दै अंक बाँड्न परेको हो । युनाईटेडले घरेलु मैदानमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिने मौका थियो ।

लण्डन क्लब चेल्सी र लेस्टर सिटीले पछिल्लो समय अंक गुमाईरहेको अवस्थामा युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा अघि बढ्ने अवसर थियो । तर युनाईटेडले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ । स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो । मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए ।

त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे ।

चौथो स्थानको युनाईटेडले ५९ अंक जोडेको छ । समान अंक भएपनि लेस्टर गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । साउथह्याम्टन ४५ अंक सहित १२ औं स्थानमा यथावत छ ।