खेलकुद

कास्कीको अनियमितता माथिको आरोपमा एन्फा नै जिम्मेवार

३० असार पोखरा । कास्की जिल्ला फुटबल संघमाथि लागेको आर्थिक अनियमितताको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा)नै जिम्मेवार देखिएको छ । एन्फाको केन्द्रिय नेतृत्वले जिल्ला फुटबल संघको नियमन र आवश्यक निर्देशन दिन नसक्दा कास्की एन्फाभित्र गम्भिर आर्थिक अनियमितता देखिएको छानबिन समितिले निष्कर्श निकालेको छ ।

जिल्ला फुटबल संघभित्र देखिएको आर्थिक अनियमितता र भ्रष्टचारबारे छानबिन गर्न एन्फाले समिति गठन गरेको थियो । समितिले ११ दिन लगाएर अनुसन्धान गर्दै सोमबार पत्रकार सम्मेलन मार्फत जिल्ला फुटबल संघको आर्थिक अवस्थाबारे जानकारी गराएको हो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पटक पटक आर्थिक विवाद र ठगीको मुद्धामा मुछिएसंगै जिल्ला फुटबल संघभित्रको अनियमितता बाहिर आएको थियो ।

छानबिन समितिका सदस्य विष्णु प्रसाद पराजुलीले अनुसन्धानको क्रममा एन्फा कास्कीमा नियमपूर्वक काम नभएको देखिएको बताएका छन् । उनले बार्षिक रुपमा अडिट नगर्ने जिल्ला फुटबल संघको सदस्यता केन्द्रले नविकरण गर्दा समस्या उत्पन्न भएको बताए ।‘प्रतियोगिताका आम्दानी १५ दिनभित्र सार्वजनीक गर्नुपर्ने हो, तर एन्फा कास्कीले गरेको छैन ।’ उनले भने, ‘एक बर्षभित्र जिल्ला फुटबल संघले अडिट गर्नुपर्ने हो । तर अडिट बिनै केन्द्रले जिल्ला संघलाई निरन्तरता दिएको छ ।’

छानबिन समितिले तत्काल जिल्ला फुटबल संघको साधारण सभा गरेर अडिट रिपोर्ट तयार गर्न केन्द्रिय एन्फालाई निर्देशन दिएको छ । यस्तै, भद्रगोल अवस्थाबाट सञ्चालन भएको जिल्ला फुटबल संघलाई व्यवस्थित बनाउन कार्यालय सञ्चालनमा ल्याउन समेत समितिले निर्देशन दिएको छ ।

समितिले एन्फा कास्कीलाई जिल्ला लिग विजेतालाई १५ दिनभित्र पुरस्कार रकम उपलब्ध गराउन र रेफ्री कोर्सको ४५ हजार रुपैयाँ साउन १ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । समितिले विभिन्न प्रतियोगिताको हिसाब किताबमा केन्द्रित रहेर जिल्ला फुटबल संघको आर्थिक गतिबिधिबारे अनुसन्धान गरेको जनाएको छ ।

छानबिन समितिले मनकामना कपमा २९ लाख १७ हजार २ सय ९० रुपैयाँ नोक्सान भएको देखिएको छ । अनुसन्धानको क्रममा ७५ सालमा आयोजना गरिएको प्रतियोगितामा ९२ लाख ९८ हजार १ सय ६४ रुपैयाँ खर्च र ६३ लाख ८० हजार ८ सय ७४ आम्दनी देखिएको हो ।

प्रतियोगिता सञ्चालन गरेर ३७ वटा संस्थालाई २४ लाख १९ हजार ९ सय ७४ रुपैयाँ दिन बाँकी देखिएको छानबिन समितिले बताएको छ । यस्तै, जिल्ला लिग सञ्चालनमा ३ लाख ५० हजार रुपैयाँ आम्दानी र ३ लाख ११ हजार रुपैयाँ खर्च देखिएको छ ।