साहित्य

साहित्यकार घिमिरेको ४८ औँ कृति ‘सपनाको देश’ सार्वजनिक

२९ असार, काठमाडौं । साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ४८औँ कृति ‘सपनाको देश’ सार्वजनिक भएको छ । आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीको अवसर पारेर अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा उत्तर कोरिया भ्रमणको संस्मरणात्मक नियात्रा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा लेखक घिमिरेले आठदिने उत्तर कोरिया भ्रमणका क्रममा कम्युनिष्ट हेर्न त्यहीँ जानुपर्ने रहेछ भन्ने अनुभव भएको सुनाए । “उत्तर कोरियाका कम्युनिष्ट हेरेपछि नेपालमा कम्युनिष्ट भएजस्तो लागेन, यसो भन्दा जोसुकै रिसाए पनि रिसाउनू”, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सांसद कृष्ण राई, नेपालका लागि उत्तर कोरियाका राजदूत जुयो मान लगायतको उपस्थितिमा उनले भने ।

कार्यक्रममा सांसद राईले व्यवस्था परिवर्तन गरेपछि मात्र विकास सम्भव हुन्छ भन्ने झूट सावित भएको बताए । विसं २०५४ मा साविकको जोरपाटी गाविसमा उपाध्यक्ष निर्वाचित हुँदाको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसबेला रु एक लाख, ५० हजार विनियोजन गरिएका कामले समेत दिगोपना कायम हुन नसकेको स्वीकार गरे ।

“काम नभएकोे देख्दा राज्य स्रोत दोहनमा सहभागी भइयो जस्तो लाग्छ, यसबाट विचार समृद्ध नभई विकास सम्भव हुँदैन भन्ने प्रमाणित भएको छ”, उनले भने । बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले जुनसुकै विचारधारा राखे पनि जनतालाई खुशी राख्न सक्नुपर्छ भन्ने उत्तर कोरियाको उदाहरणबाट स्पष्ट भएको बताए ।

राजदूत जुयो मानले उत्तर कोरियाका विषयमा नेपालीलाई जानकारी दिन पुस्तक सफल रहेको बताए । समृद्ध नेपाल र सुखी नेपालीका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत उनले जनाए ।

गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुवेदीले नगरपालिकाले नगर क्षेत्रका साहित्यिक संस्थालाई संस्थागत विकासका लागि सहयोग गरेको जानकारी दिए । देशव्यापी कविता महोत्सवसमेत आयोजना गरेर नगरपालिकाले देशभरका स्थानीय तहमध्येमा उत्कृष्ट काम गरेको उनको भनाइ थियो ।

वरिष्ठ पत्रकार विजय चालिसेले कवितापछि बढी लेखिएको नियात्रा विधाका माध्यमबाट साहित्यकार घिमिरेले उत्तरकोरियाका बारेमा यथेष्ट जानकारी दिनुभएको बताए। कार्यक्रममा उपन्यासकार शङ्कर भारती, भैरव अर्याल साहित्य संस्थाका अध्यक्ष विमल अर्याल, उत्तर कोरियामा लामो समय बिताउनुभएका वसन्त श्रेष्ठ र ढुण्डीराज पोखरेललगायतले १४ प्रतिशत खेतीयोग्य जमिन रहेको उत्तर कोरियाले कृषिमा प्रगति गर्नु तर २५ प्रतिशत खेतीयोग्य जमिन रहेको नेपाल पछि पर्नुको कारण खोजी गरिनुपर्नेमा जोड दिएका थिए ।