लुम्बिनी

जिल्लामा निर्माण गरिएका क्वारेन्टिन र सडक योजनाको अनुगमन

२९ असार, रुकुमपूर्व । आर्थिक वर्ष सकिनै लाग्दा जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएका योजनाको अनुगमन भएको छ । प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जिल्लामा निर्माण गरिएका क्वारेन्टिन र सडक योजनाको अनुगमन गरेको हो ।

प्रदेशसभा सदस्य ओलीले चुनबाङ–रुकुमकोट–सिस्नेद्वारी–डोल्पा सडकखण्डको अनुगमन गरेका छन् । चालु आर्थिक वर्षदेखि शुरु गरिएको उक्त सडकको अहिले रुमालबाराबाट ठाराखोलासम्म साढे चार किलोमिटरमा बाटो खनिएको छ । भ्याटबाहेक रु सात करोड ७१ लाखमा रौताह पिके जेभीले रुकुमकोटबाट होर्दीङसम्म बाटो खन्ने ठेक्का लिएको छ । वर्षा शुरु भएसँगै प्रतिकूल मौसममा कारण त्यहाँभन्दा अगाडि बाटो खन्न नसकिएको जेभीका साइट इञ्चार्ज तेजेन्द्र केसीले बताए ।

सडक खन्ने बेलामा पनि विवादमा परेको उक्त खण्डको गुणस्तर, सम्भावना र विकल्पलगायत विषयमा प्रदेशसभा सदस्य ओलीले अनुगमन गरेका छन् । सडकको काम शुरु गर्ने बेलामा भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङ र सिस्ने –५ दुधिल्लागैराका नागरिकबीच विवाद परेको थियो ।

कुचिबाङवासीलाई सहमतिमा ल्याएर अहिले विस्तृत परियोजना प्रतिवेदन भएका ठाउँबाट बाटो खनिएको छ । प्रदेश सरकारले खोपीचार–होर्दीङ–कुचिबाङ–दोमई–महतमा नयाँ योजना पारेपछि त्यहाँबाट कुचिबाङबासीको माग संम्बोधन भएको जनाउँदै ओलीले अहिले खनिरहेका ठाउँबाट नै सडकलाई निरन्तरता दिइने बताए ।

अनुगमनका क्रममा सडकको काम गुणस्तरयुक्त भएको, धमाधम पर्खाल, जाली र डबल कटिङको काम भइरहेको पाइएको उनले बताए । विवादकै कारण सो सडक जिरो प्वाइन्टभन्दा आठ सय मिटर अगाडिबाट सडक खनिएको छ । उक्त ठाउँको विवाद समाधानका लागि पनि छलफल गरिने उहाँको भनाइ छ । उहाँले यसभन्दा अगाडि भूमे गाउँपालिकामा खनिरहेको लुकुम–रिका सडकखण्डको अनुगमन पनि गरे । गाउँपालिकाको ३० लाख र प्रदेश सरकारको समपूरक अनुदान ३० लाख गरी कुल ६० लाख बजेटमा निर्माण हुँदै गरेको सडकको अनुगमन गरेको हो ।