गण्डकी प्रदेश

पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदान

२९ असार, कास्की । गत असार २६ गते राति जिल्लाका विभिन्न तीन स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी प्रदेश सरकारले राहतस्वरुप आर्थिक सहयोग गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पोखरा–१८ सराङकोटका पाँच तथा वडा नं २५ हेम्जा र वडा नं २६ लेखनाथस्थित पैतेडाँडाका एक/एक जना गरी सात जना मृतकका परिवारलाई जनही रु ५० हजारका दरले राहत प्रदान गरेको हो ।

सराङकोटको गोठादीमा मृत्यु भएका टङ्कबहादुर थापा र सोममायाका काका नाता पर्ने सोमबहादुर थापालाई राहत प्रदान गरियोे । इसिका राईका बुबा राजकुमार, सुवान थापाका बुबा पद्म थापा तथा शीतल श्रेष्ठको सानो बुबा सविन थापालाई जनही रु ५० हजारका दरले प्रदान गरिएको थियो ।

त्यसैगरी हेम्जास्थित मेलबोटमा पहिरोमा परी मृत्यु भएका हिमकली अधिकारीका बुहारी दीपा अधिकारी तथा पहिरोले घर पुरिँदा मृत्यु भएका दुर्गाबहादुर सुनारका श्रीमती विमला सुनारलाई मन्त्री चुमानले ५०÷५० हजारका दरले हस्तान्तरण गरेका थिए । राहत वितरण गर्दे मन्त्री चुमानले प्राकृतिक बिपत्तिसँग जुध्नका लागि सरकारले प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिको परिचालन गर्ने बताए ।