प्रदेश 2

कमलामाईमा शान्तिदूत बुद्धको मूर्ति अनावरण

२९ असार, सिन्धुली । कमलामाई नगरपालिका–७ बुद्धनगरमा आज शान्तिदूत गौतमबुद्धको मूर्ति अनावरण गरिएको छ । उक्त मूर्तिको नगरप्रमुख खड्गबहादुर खत्रीले अनावरण गरेका हुन् ।

नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको मूर्ति अनावरणपछि प्रमुख खत्रीले यस स्थानमा बुद्धको मूर्ति स्थापनाले सिन्धुलीमा शान्तिको सन्देश छर्न सहयोग पुगेको बताए । हिमाल, पहाड र तराइका जिल्लासँगै राजधानी जाने सवारीको मुख्य सडक बीपी राजमार्ग भएको र बीपी राजमार्गको छेउमा मापदण्डअनुसार बुद्धको मूर्ति स्थापना गरिएको उनले बताए ।

तामाङ समुदायको बाहुल्यता रहेको साविक माझिटार हाल बुद्धनगर नामले मात्र नभई कामले पनि बुद्धनगर भएको उनको भनाइ छ । बौद्ध धर्मको पूजाआजासँगै बुद्धको मूर्ति अनावरण गरिएको छ ।

नगरपालिकाको १५ लाख र उपभोक्ताको श्रमदान रु तीन लाख ७५ हजारको लागतमा मूर्ति स्थापना गरिएको नगरपालिकाका प्रवत्ता एवं वडा नं. ७ का वडाध्यक्ष कर्ण घिसिङले जानकारी दिए । बौद्ध धर्मको मान्यतानुसार लामाहरुबाट आवश्यक विधि प्रक्रिया पूरा गरिएको उनको भनाइ छ । उक्त मूर्ति नेपाली सेनामा कार्यरत माधव पौडेलले बनाएका हुन् ।