बाग्मती

बन्दाबन्दीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यक्रम प्रभावित

२९ असार, काठमाडौँ । आर्थिक वर्षको अन्तिम चौमासिक शुरु भएसँगै सरकारले लागू गरेको बन्दाबन्दीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का जारी कार्यक्रम प्रभावित भएको छ ।

कोभिड–१९ को सङ्क्रमण देशभर फैलिएकाले सरकारले कार्यक्रमको बजेट खर्च गर्न नपाउने भनी निर्देशन गर्दा कार्यक्रम प्रभावित भएको हो । अर्थ मन्त्रालयबाट नियमित कार्यक्रमको बजेट रोकिएकाले आवश्यक सामग्री खरिद नगरिएको प्रतिष्ठानका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले बताए । चालू आवमा कतिपय रसायन र उपकरण खरिद गर्नुपर्ने भए पनि निर्देशनका कारण रोकिएको उनले बताए । उनले भने, “अघिल्ला चौमासिकमा योजनाका काम भए पनि खरिदलगायतका काम हुने अन्तिम चौमासिकमा नै हुने थियो, तर लकडाउनले त्यो रोकिएको छ ।”

अर्थ मन्त्रालयले समग्र कार्यक्रमको बजेट प्रवाह रोकेको हो । खरिद प्रक्रियामा गइसकेका बाहेक प्रक्रिया शुरु नभएका सबैको प्रक्रिया रोकिएको प्रवक्ता ढुङ्गेलले बताए । प्रतिष्ठानले अहिले दैनिक चाहिने सामग्री खरिद गर्न सकेको छैन । उनले भने, “हामीसँग भएका स्टक रसायनबाट सक्ने अनुसन्धान जारी छ, तर नयाँ किन्न सकिएको छैन ।”

प्रतिष्ठानले बन्दाबन्दी लागू भएदेखि नै कार्यालय खोल्नेबाहेक नियमित काम रोकेको थियो । चैत ११ देखि जेठसम्म पनि बीचबीचमा आवश्यक पर्दा कर्मचारी आउने र सक्ने काम गरिरहेको उनले बताए । प्रतिष्ठानका अध्ययन र अनुसन्धानका कार्यक्रम धेरै छन् भने सेवा प्रवाहका कार्यक्रम थोरै मात्रै रहेका छन् । बन्दाबन्दीको अवधिमा पनि आवश्यकताअनुसार कोभिड–१९ सँग जुध्ने कार्यक्रमको योजना बनाइएको उनले बताए । त्यस्तै यहाँका पदाधिकारी र शिक्षा मन्त्रालयले बनाएको समूहमार्फत पनि आवश्यक बैठक र छलफलमा सहभागी भइरहेका थिए । उनले भने, “कोभिडसँग जुध्न केही बनाउन सकिन्छ कि भनेर हामी घरघरमै पनि जुम बैठकबाट छलफल गरिरहेका थियौँ ।”

चालू आवमा समृद्धिका लागि नवप्रवद्र्धन कार्यक्रम शुरु भए पनि यो कार्यक्रम पनि स्थगित हुने अवस्था रहेको प्रवक्ता ढुङ्गेलले बताए। प्रतिष्ठानले रोक्का भएको कार्यक्रम विशेष अनुरोध गरेर फुक्का गरेको थियो । अहिले नयाँ प्रविधि विकास गर्न र कोभिड लक्षित गरेर केही दिन भित्रै नतिजा दिने गरी काममा लागिएको उनले बताए । उनले भने, “अनुसन्धानकर्मी र नवप्रवद्र्धनकर्मीलाई नतिजा दिने गरी अध्ययन गरिरहेका छन् ।”

नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरु भएदेखि नै स्यानिटाइजर अभाव थियो । विदेशबाट आवश्यक परिणाममा नआउँदा अभाव हुने अवस्था भएपछि स्वदेशमै घरेलु सामग्रीको प्रयोग गरी स्यानिटाइजर बनाउने तालिम शुरु गरेको थियो । प्रतिष्ठानले ललितपुर महानगरपालिकासँगको सहकार्यमा घरायसी रक्सिबाट स्यानिटाइजर बनाउने तालिम शुरु ग¥यो । अहिले यसको अभावको अवस्था नभएको उनले बताए । त्यो तालिमका कारण नेपालीमा आफैँ बनाउन सक्छौँ भन्ने आत्मविश्वास बढ्यो । नेपाल औषधि लिमिटेडसँगै निजी कम्पनीसमेतले यसको उत्पादन शुरु गरेका थिए । उनले भने, “विदेशबाट आयात नगरी हामी सक्छौँ भन्ने भयो र त्यसयता देशमा अभाव सुनिएको छैन ।”

प्रतिष्ठानले बन्दाबन्दी पहिलेदेखि नै विज्ञान संवाद शुरु गरेको थियो । परीक्षणमा काम गर्ने, स्वास्थ्य विभागमा कार्यरतसँग अन्तक्र्रिया बन्दाबन्दी पहिले नै शुरु भएको थियो । शिक्षा मन्त्रालयअन्तर्गत पूर्वमन्त्री गणेश साहको नेतृत्वमा बनेको समितिमा रहेर पनि काम गरिएको उनले बताए । वैज्ञानिक अनुसन्धान समितिमा विभिन्न काम भइरहेको छ । कतिपय अरु व्यक्ति र संस्थाले शुरु गरेको अध्ययनमा सहयोग गरिएको उनले बताए । प्रतिष्ठानले कसरी क्वारेन्टिन व्यवस्थित र सुरक्षित बनाउने भनी प्रविधि विकास गरिरहेको छ । उनले भने, “आगामी दिनमा पनि देखिन गरी केही गर्न खोजिएको छ ।”

प्रतिष्ठानले कोभिड–१९ रोकथामका लागि हजारौँ वर्ष पुरानो आयुर्वेदिक पद्धतिलाई अध्ययन गरिरहेको छ । स्वास्थ्य अनुसन्धानमा मात्रै यो प्रतिष्ठान केन्द्रित नभएकाले घनिभूतरुपमा नभए पनि आयुर्वेदिक औषधिको स्थापित औषधिकै नयाँ रुप बनाउन अनुसन्धान गरिएको छ । नास्टको क्षमता नास्टको प्रयोगशाला क्षमता बढाउन पनि लागिएको छ । त्यस्तै जनचेतना फैलाउने काम भइरहेको उनले बताए । प्रवक्ता ढुङ्गेलले भ, “रेडियो र टेलिभिजनमार्फत जनचेतनामूलक कार्यक्रम प्रशारण भइरहेको छ ।”

सरकारले दुई चरणमा कार्यालय सञ्चालन गर्ने भने पनि अहिले एउटै चरणमा र झण्डै शतप्रतिशत कर्मचारी कार्यालय आइरहेका छन् । प्रतिष्ठानको दरबन्दीभन्दा तीनगुणा कम कर्मचारी भएकाले शतप्रतिशत आइरहेको प्रतिष्ठानले जनाएको छ । बन्दाबन्दी लागू हुनासाथ काठमाडौँ उपत्यका बहिर गएका कतिपय कर्मचारी क्वारेन्टिन बसेर कार्यालय आइरहेका छन् । २३१ जनाको दरबन्दी रहेको प्रतिष्ठानमा अहिले अनुसन्धानकर्ताबाहेक ९१ जना कार्यरत छन् ।