खेलकुद

११ दिन लगाएर कास्की जिल्ला फुटबल संघमाथिको छानबिन सकियो

२९ असार पोखरा । कास्की जिल्ला फुटबल संघमाथिको छानबिन सकिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाद्धारा गठित छानबिन समितिले जिल्ला फुटबल संघमाथि ११ दिन लगाएर छानबिन सम्पन्न गरेको हो ।

जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेपछि एन्फाले केन्द्रिय स्तरको छानबिन समिति गठन गरेको थियो । एन्फा कास्कीमाथि अनुसन्धान सकिएसंगै केन्द्रिय उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको टोलीले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।

अघिल्लो साता पोखरा पुगेका खड्काले जिल्ला फुटबल संघले आयोजना गरेका प्रतियोगिताको हिसाब किताबमा आधारित रहेर छानबिन अघि बढाएका थिए । समितिले ६ वटा प्रतियोगिताका कागजात तथा बिल–भरपाई माग गर्दै अध्ययन गरेको छ ।

कास्की एन्फाले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघ महिनामा बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेपछि जिल्ला फुटबल संघभित्र रहेको आर्थिक अनियमितताको बिषय बाहिर आएको थियो । त्यसयता एन्फा कास्कीमाथि छानविन गरिनुपर्ने माग चौतर्फी रुपमा बढेको थियो ।

एन्फाले यसअघि केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको थियो । तर श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएपछि एन्फाले छानबिन कमिटिको नेतृत्वमा उपाध्यक्ष खड्कालाई नियुक्त गरेको थियो । असार २ गते बसेको एन्फा कार्यसमितिको आपत्कालिन बैठकले नयाँ छानबिन समिति गठन गरेको हो ।