लुम्बिनी

लमहीमा दिसाजन्य फोहर व्यवस्थापन

२८ असार, लमही । नेपाल नगरपालिका सङ्घको सहकार्यमा लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापन गर्न परियोजना शुरुआत गरेको छ । परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले यसका लागि नगरपालिका र सङ्घबीच २०७५ साल पुस १० गते सम्झौता भएको जानकारी दिए।

परियोजनाले दिसाजन्य लेदो व्यवस्था गर्ने काम गर्ने जनाएको छ । शौचालयको सेफ्टीट्याङ्कीबाट निकालेर बाहिर फालिने फोहरलाई व्यवस्थापन गर्न सहज हुने भएको छ । यसले वातावरण सफा राख्नसमेत सहयोग पुग्ने बताइएको छ । यसका लागि प्लान्ट निर्माण गरेर यसमा सेफ्टीट्याङ्कीबाट निकालिएको फोहर राखी ठोसमा परिणत गरिनेछ । यसबाटलाई कम्पोष्ट मल बनाएर बिक्रीसमेत गरिने उनले बताए ।

 

“यसले गर्दा आम्दानीको स्रोतसमेत बन्नेछ, परियोजना सुरु भएमा फोहर व्यवस्थापनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ”, उनले भने । पूर्व–पश्चिम राजमार्ग यही नगरपालिकामा भएकाले पनि नगरपालिकामा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ ।

 

अहिले घरघरका शौचालयको सेफ्टीट्याङ्कीबाट ल्याइएको दिसाजन्य फोहर ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गरिँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निजी क्षेत्रको सहकार्यमा नगर क्षेत्रमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

 

परियोजनाअन्तर्गत नगरपालिका–५ मा रहेको ल्यान्डफिल्ड साइटमा आवश्यक भौतिक संरचना निर्माण गरिनेछ । भौतिक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयारीको कामसमेत अन्त्यमा पुगेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७/७८ मा यसका लागि रु दुई करोड बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।