प्रदेश 2

स्रष्टा उपाध्यायलाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार

२८ असार, जनकपुरधाम। नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कारको राशि  दुई लाख रहेको छ ।

सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यका बारेमा दीर्घ लेखनका लागि उनलाई सो पुरस्कार प्रदान गरिएको हो । प्रदेश नं २ का प्रमुख तिलक परियारले विद्यापति पुरस्कार कोषद्वारा शनिबार जनकपुरधाममा आयोजित विशेष समारोहमा पुरस्कृत स्रष्टालाई पुरस्कार प्रदान गरे ।

त्यस्तै कोषद्वारा  एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका दिनेश यादवलाई प्रदान गरिएको छ । उनलाई मैथिली भाषा, साहित्य र पत्रकारिताबारे अनुसन्धानका लागि सो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

त्यस्तै नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जिल्लाका उपेन्द्र भगत नागवंशी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरी जिल्लाका शिवनारायण पण्डित र नेपाल विद्यापति मैथिली कला, संस्कृति पुरस्कार धनुषा जिल्लाका लक्ष्मण मण्डललाई प्रदान गरिएको छ ।

नागवंशीको काव्यकृति नामक कविता सङ्ग्रहको पाण्डुलिपि, पण्डितलाई भरत जङ्गमको नेपाली भाषाको ‘कालो सूर्य’ नामक उपन्यासको मैथिली अनुवाद र मण्डललाई मिथिला चित्रकलाका लागि पुरस्कृत गरिएको हो । ती पुरस्कारको राशि जनही एक लाख रहेको छ ।

सो अवसरमा प्रदेश प्रमुख परियारले भाषा सभ्यता, संस्कृति, प्रगतिशीलता एवं ज्ञानको सङ्ग्रहको द्योतक भएकाले यसको संरक्षण र विकासमा सबै पक्षको अग्रसरता आवश्यक रहेको प्रसङ्ग उल्लेख गरे ।

मधेशी आयोगका अध्यक्ष विजय दत्तले कोषको अक्षयकोषको रकममा वृद्धि गरी अन्य भाषाका स्रष्टालाई पनि पुरस्कृत गर्नु जरूरी छ भने । पूर्वमन्त्री रामचन्द्र झाले प्रदेश नं २ सरकारले प्रदेशको कामकाज भाषा निर्धारण कार्यलाई अन्योल पारी भाषिक उत्थानलाई अवरूद्ध बनाएको चर्चा गर्दै मैथिली भाषालाई राजकीय संरक्षण अपरिहार्य छ भने ।

पुरस्कृत स्रष्टा दिनेश यादवले मैथिली भाषाको मानकीकरण गरी समावेशी बनाउँदै अविश्वासको वातावरण हटाउनु अपरिहार्य भइसकेको धारणा राखे । कोषका अध्यक्ष डा रामसागर पण्डितको सभापतित्वमा भएको समारोहमा सदस्यसचिव नवीन मिश्र र सदस्य राजकुमार महासेठले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए ।