गण्डकी प्रदेश

दुवै मिर्गौलापीडित श्रेष्ठलाई आर्थिक सहयोग जुट्दै

२८ असार, तनहुँ । व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित ५२ वर्षीय राजु श्रेष्ठको उपचारका लागि शनिबार मात्रै रु चार लाख ५९ हजार आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको छ । व्यास–४ घर भई हाल भरतपुर महानगरपालिका–९ मा बस्दै आएका श्रेष्ठको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन भएको उक्त रकम घरमै पुगेर पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

व्यास–२ भोर्लेटार चोक निवासी वीरेन्द्र घर्तीमार्फत दुई लाख ६० हजार ३१, सोही वडा निवासी गौरीशङ्कर थापामार्फत एक लाख १९ हजार ५०० र रजिनलाल श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठको अगुवाइमा सङ्कलन भएको ७९ हजार ४६९ गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।

दमौलीस्थित तनहुँ टेलिभिजनमा कार्यरत श्रेष्ठले केही वर्षयता टेलिभिजन छाडेर भिडियोग्राफी क्षेत्रमा काम गर्दै आएका थिए। श्रेष्ठको उपचारका लागि केही दिनअघि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ राकुको सक्रियतामा दमौली बजार क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा सङ्कलन भएको रु एक लाख ११ हजार ५४७ सहयोग गरिएको थियो ।

त्यसैगरी जनभावना नेवाःखलबाट ३० हजार, लायन्स क्लब अफ तनहुँ दमौलीबाट ४० हजार सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको छ । केही दिनअघि मात्रै लायन्स क्लब अफ व्यास सिटीबाट ६३ हजार ८१० सहयोग गरिएको लायन्स क्लब अफ व्यास सिटीका अध्यक्ष कुमार मल्लले जानकारी दिए । भरतपुर अस्पतालमा उपचाररत अवस्थामा रहेका श्रेष्ठको धर्मपत्नी बिमाया श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष मल्लले बताए ।

त्यसैगरी व्यास नगरपालिका–४ निवासी गणेश शाहीले आफ्ना साथीभाइ तथा इष्टमित्रबाट सङ्कलन गरेको ५० हजार गत बुधबार पीडित श्रेष्ठको बैंक खातामा जम्मा गरिएको बताए । आफूले रु पाँच हजार र अन्य तरकारी लाइन टोलका मासु, तरकारी पसल, किराना/फलफूल पसल तथा फेन्सी पसलबाट सहयोग सङ्कलन गरिएको रकम खातामा जम्मा गरिएको उनले जानकारी दिए ।

श्रेष्ठको उपचारका लागि विभिन्न सङ्घसंस्थाबाट सहयोग आउने क्रम जारी रहेपछि उपचारमा सहज भएको पीडित राजुकी पत्नी बिमायाले बताए । आर्थिक अवस्था नाजुक रहेका कारण उपचारमा समस्या भएको थियो । उनले भने, “देश–विदेशमा रहनुभएका दाजुभाइको सहयोग र मायाले आर्थिक सङ्कलन भइरहेको छ ।” उनका अनुसार पतिको उपचारका लागि हालसम्म बैंकमा करिब १४ लाख सहयोग सङ्कलन भइसकेको छ । श्रेष्ठको उपचारका लागि दमौलीमा घर भई हाल अमेरिकामा बस्दै आएका किरण पन्तको सक्रियतामा आर्थिक सङ्कलन भइरहेको बताइएको छ ।