लुम्बिनी

पहिरोले सडक बगाउँदा गुल्मीका गाउँगाउँबीच सम्पर्क विच्छेद

२७ असार, तम्घास । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तिचौर जुकेपानीमा असार १८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा ५० घर विस्थापित भए । कयौँ जनावरको पहिरोमै पुरिएर मृत्यु हुनाका साथै त्यस ठाउँका कतिपय गोठ बगाएको छ भने कतिपयका घर उच्च जोखिममा छन् ।

सदरमुकाम तम्घासबाट हुलाके–नयाँपोखरा–ढाड हुँदै जुकेपानी पुगिन्छ । तर असार १८ गते राति परेको अविरल वर्षाले जुकेपानीको बस्तीमात्र होइन, त्यहाँसम्म पुग्ने सडक पनि बगाएर आवतजावतमा कठिनाइ भएको छ । उक्त सडक अन्तर्गतको ढाड भन्ने स्थानमा करीब २० मिटरभन्दा बढी चौडाइ तथा सय मिटरभन्दा बढी लम्बाइमा गएको पहिरोले जुकेपानी र अन्य गाउँको सम्बन्धविच्छेद भएका कारण पहिरो प्रभावितलाई राहत र उद्धारमा समस्या भएको छ ।

“सवारी चल्न त परैको कुरा, पैदल हिँडेर पहिरो प्रभावित ठाउँमा पुग्न पनि कठिन भइरहेको छ”, इस्मा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले भने । उनले अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध बनाएको उल्लेख गर्दै सडक अवरुद्ध भएसँगै अहिले जुकेपानीमा खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवासुविधा छ दिनदेखि बन्द छन् ।

सदरमुकाम तम्घासबाट मल्दी–हर्पुकोट–निस्तीखोला, हुलाके–नयाँपोखरा, भञ्ज्याङ–मुसिकोट–निस्ती र देराली–अमराई सडक जुकेपानीसम्म पुग्ने वैकल्पिक सडक हुन् । वर्षाका कारण ती सबै सडक अवरुद्ध छन् । अन्य सडक बनाउने कुनै उपाय नभएपछि मल्दी–हर्पुकोट–निस्तीखोला सडक बिग्रिएको ठाउँमा मर्मत गरी बनाउने र वैकल्पिक सडकबाट जुकेपानीसम्म राहत लिएर पुग्ने गाउँपालिकाको योजना छ । तर निरन्तर पानी परिरहेकाले उक्त सडक मर्मतमा पनि कठिनाइ आएको छ । गाउँपालिकाका प्रवक्ता अधिकारीले भने, “सडक सुचारु गर्ने निरन्तर प्रयासमा छौँ, तर वर्षाका कारण सफल हुन सकेका छैनौँ ।”

सेउघा–सीमाघाट–पुर्कोट सडक गुल्मीको पश्चिम क्षेत्रमा पर्ने महत्वपूर्ण सडक हो । जिल्ला सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको केही भाग, धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा उक्त सडक पर्दछ । अहिले उक्त सडकको स्तरोन्नतिका लागि मदाने गाउँपालिका–७ भनभने स्थित खहरेखोला–कोलहाले सडकमा बाटो चौडा बनाउने काम भइरहेको छ । वर्षायाममा सडकमा पानी र डोजर एकैसाथ निरन्तर चलिरहेको छ । जसले गर्दा काम गर्दागर्दै असार १६ गते कोलहालेमा माथिबाट पहिरो गयो । सडक अवरुद्ध पनि भयो । त्यस दिनदेखि सदरमुकामसँग उक्त क्षेत्रको सम्बन्धविच्छेद भएको वडाध्यक्ष काशिबहादुर बोहोराले जानकारी दिए ।

सडकमा पहिरो गएसँगै भनभने, पुर्कोट दह, म्यालपोखरी, मलागिरि, बाँझकटेरी हुँदै अग्लुङसम्मका नागरिक प्रभावित भएको उनले बताए । मदाने पहुँचमार्गअन्तर्गत उक्त सडक आयोजनाको काम अहिले मदन भण्डारी राजमार्गले दायित्व लिएको छ । सडकमा पहिरो गएको जानकारी सम्बन्धित निकायमा गराए पनि अहिलेसम्म पहिरो हटाउने कुनै काम हुन नसकेको बोहोराको भनाइ छ । “दर्जनौँ गाउँ सडक सञ्जालविहीन भएको छ, अत्यावश्यक काम परे पनि गाउँबाहिर जान सकिँदैन”, उनले भने । उनले वर्षायाममा गरिने कामले विकासभन्दा विनाश निम्त्याएको बताए । मालिका गाउँपालिका–१ नेटास्थित घैयाखेत भन्ने स्थानमा सडक चौडा बनाउने काम चलिरहेको थियो । सडकमा घुम्ती काट्नुपर्ने भएकाले अन्य ठाउँभन्दा अलि चौडा बनाउनुपर्ने थियो । अविरल वर्षाका बाबजुत पनि सडक चौडा गराउँदा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध पा¥यो । उक्त सडकमात्र होइन्, त्यसभन्दा तलबाट अर्खबाङ्ग जोड्ने सडक पनि पहिराले अवरुद्ध बनायो ।

अहिले नेटाका बस्ती सडक सञ्जालविहीन भएका छन् । कोही बिरामी परे वा कसैको अत्यावश्यक काम परे पनि गाउँबाट बाहिर निस्कन मिल्दैन । “विकासको नाममा खनिएका सडकले धेरै दुःख दिएका छन्, अहिले गाउँपालिका केन्द्र अर्खबाङ्गलगायत सदरमुकामसँग पनि हाम्रो सडक सञ्जाल बिग्रिएको छ”, नेटाका स्थानीयवासी महेन्द्र विश्वकर्माले भन्नुभयो, “सडक नबनाए विपत्मा गुहार नपाइने, मर्मत गरे झनै पहिरो जाने डर” त्यसका साथै उनले भौगर्भिक अध्ययन गरेरमात्र सडक निर्माण गर्न आग्रह गरे ।

बतासे–खुप्चापानी–परिवारटोल–पढेलपोखरा सडकअन्तर्गतको रेसुङ्गा नरपालिका–३ भाडगाउँस्थित मन्दिरटोल नजीकै पहिरो जाँदा सडक अवरुद्ध हुनाका साथै सिङ्गो गाउँ नै विस्थापित भयो । भाडगाउँका दलित बस्ती अहिले सडक सञ्जालविहीन छन् । उनीहरु सदरमुकामसम्म जानमात्र होइन्, घाँसदाउरा काट्ने लगायतका नियमित काम गर्न पनि नपाएको स्थानीयवासी अनिल बस्नेतले बताए । कुनै पनि सडक निर्माण गर्दा आई।ई। र डिपिआर गर्नुपर्छ ।

तर कुनै पनि अध्ययन नगरीकन खनिएको उक्त सडक अहिले स्थानीयवासीका लागि पासो बनेको छ । “निरन्तर माटोको लेदो झरिरहन्छ, पहिरो गएको स्थानमा मात्र नभएर त्यसभन्दा तलपट्टिको भागमा पनि जोखम उत्तिकै छ”, बस्नेतले भने, “पैदल हिँड्ने यात्रु र केटाकेटीलाई जोखिम झन् पछि झन् बढ्दै गएको छ ।” अविरल वर्षाले जिल्लाको इस्मा, मदाने, रेसुङ्गा र मालिकामात्र होइन, धेरै गाउँ र बस्ती बीचको सम्बन्धविच्छेद गराएको छ । मुसिकोट नगरपालिकामा असार १८ गते राति परेको अविरल वर्षासँगै पहिरो जाँदा पौँदी अमराईको सडक अवरुद्ध भयो । जसले गर्दा अहिले विद्युत्को सब स्टेशनको काम रोकिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । जिल्लाको गुल्मीदरबार, कालीगण्डकी, चन्द्रकोटलगायत स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी एवम् विपत् व्यवस्थापन समितिका संयोजक भरतकुमार शर्माले राजमार्गहरु सम्बन्धित आयोजनाले बनाउने र शाखा सडकहरु सम्बन्धित स्थानीय तहहरुले बनाउने सहमति भएको बताए । मदन भण्डारी राजमार्ग, पूर्वाधार विकास कार्यालयलगायत कार्यालयहरुलाई राजमार्गका ठाउँमा बिग्रिएको सडक मर्मत गर्न निर्देशन दिएको उनले बताए । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले पहिरो गएका स्थान र पहिरो नगएका विभिन्न स्थानमा समेत मेशिनहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले बताए। तर अविरल वर्षाका कारण पहिरो गएको ठाउँमा समेत मेसिन प्रयोग गरी सडक पुनः सञ्चालन गराउन नसकिएको उनको भनाइ छ ।