कृषि

मनहरामा महिला नेतृत्वको मनमुरी कृषि बजार

२७ असार, काठमाडौँ । कागेश्वरी मनहरा नगरपालिका–८ स्थित गोठाटार नागरिक मार्गमा महिला नेतृत्वको मनमुरी सहकारी संस्थाले कृषि उपज बजार सञ्चालन गरेको छ ।

कूल चार रोपनी ६ आना क्षेत्रफलमा रहेको सो बजारमा २८ वटा सटरमा तरकारी, फलफूल, मासु, माछा, कफी शप, खाद्यान्न, भेटेनरीलगायत थोक तथा खुद्रा पसल सञ्चालनमा छन् । सो सहकारीका अध्यक्ष जयकला बस्नेतले सहकारीका सदस्यलाई मात्रै सटर उपलब्ध गराइएको जनाउँदै सीमित पूँजी भएका व्यापारीलाई प्रोत्साहनको नीति लिइएको बताए । उनले किसानको उत्पादन दलालमार्फत नभई आफैँ बिक्री–वितरणका लागि सहकारी उपयोगी हुने बताए ।

सो सहकारीका लागि सरकारको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रले २६ लाख २५ हजार अनुदान उपलब्ध गराएको थियो । अनुदानसहित सहकारीले एक करोड ६७ लाखको लागतमा बजार स्थापना गरिएको हो । कृषि उपज बजार सञ्चालनमा आएपछि कृषकलाई आफ्नो उत्पादन बेच्न सजिलो भएका थोक मासु पसल सञ्चालक द उदयपुर मिट मार्टका दौलतविक्रम राउतले बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले स्थानीय कृषकलाई सहयोग पु¥याउन सहकारीलाई सहयोग गरिएको जानकारी दिए ।