साहित्य

२०७ औँ भानु जयन्तीमा अभिनवको विशेष साहित्यिक कार्यक्रम

२७ असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले जोरपाटीमा विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।

समाजले प्रत्येक महिनाको अन्तिम शनिबार विसं २०५८ फागुन २५ गतेदेखि साहित्यिक शृङ्खलाको आयोजना गर्दै आएको छ । आजको कार्यक्रम २२१औँ शृङ्खलाको हो । विगत वर्षदेखि नै असारको अन्तिम शनिबार आदिकवि भानुभक्त आचार्यको जयन्ती र असारे लोक भाका विशेष कार्यक्रम गर्ने गरिएकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने भएकाले भौतिक दूरी कायम गरी सीमित मानिसबीच कार्यक्रम गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ जानकारी दिए ।

चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण तीन महिनाको शनिबार जुम प्रविधिबाट कविता वाचन गरिएको सो अवसरमा जानकारी गराइएको थियो । १८ जना कवि एवं कवयित्रीले भानुभक्तको रामायण, नेपाली साहित्यमा भानुभक्तको योगदान, असारे लोक भाकालगायत विषयमा कविता वाचन गरेका थिए ।

कार्यक्रममा सूर्य चापागाईं, शैलेन्द्र श्रेष्ठ, नवराज पुडासैनी, मेनका आचार्य, रामकुमार पण्डित, डा विदुर चालिसे, विजय चालिसे लगायतले रचना पाठ गरेका थिए । समाजले २०७औँ भानु जयन्तीका अवसरमा सोमबार जोरपाटीमा विशेष साहित्यिक कार्यक्रम गर्ने जानकारीसमेत दिएको छ ।