मनोरञ्जन

‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

२७ असार, काठमाडौं । बहुपति प्रथाका विषयमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रुसको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।

आगामी अगस्त २७ देखि २९ सम्म त्यहाँ हुने अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा नेपालबाट पत्रकार गणेश पाण्डेद्वारा निर्देशित उक्त फिल्म छानिएको हो । सो फिल्मले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई पहिलोपटक पर्दामा उतारिएको हो । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एकापसमा बाँड्छन् । जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग जीवन बिताएका र विद्रोह गरेका तीनवटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाउनुभएको थियो । साइन मिडिया प्रालिका लागि शारदा गैह्रेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । फिल्ममा ईश्वर कोइराला, चन्द्रमान डङ्गोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । सङ्गीत संयोजन सङ्गीतकार जुगल डङ्गोलले गरेका छन् ।