राजनीति

राजनीतिक हस्तक्षेप/भागवण्डा अन्त्य गर्दै ईन्टरनेट निःशुल्क गर्न नेविसंघको माग

२७ असार, काठमाडौं । नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका पदाधिकारी तथा प्राज्ञिक नेतृत्व छनोट गर्दा पारदर्शी मापदण्ड अपनाउन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाको नेतृत्वमा आज त्रिभुवन विश्वविद्यालयका उपकुपतिलाई भेटेर शैक्षिक क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप र भागवण्डा बन्द गर्दै स्वच्छ, मर्यादित र प्राज्ञिक वातावरण कायम गर्न माग गरेका हुन् ।

नेविसङ्घले विश्वविद्यालयलाई सत्तारुढ पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने कार्य तत्काल बन्द गरी सबै अवाञ्छित नियुुक्ति बदर गर्नुपर्ने माग गरेको जनाएको छ । नेविसङ्घ र विश्वविद्यालयबीच विभिन्न समयमा भएका सहमति पूर्णरुपमा पालना गर्नुपर्ने, त्रिभुवन शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणका कारण अवरुद्ध स्वास्थ्य सेवा तुरुन्त सुचारु गर्नुपर्ने, शैक्षिकसत्र नियमित राख्न त्रिविको योजना तथा अवधारणा तुरुन्त सार्वजनिक गर्न माग गरेको छ ।

यस्तै, त्रिविको वार्षिक तथा सेमेष्टर प्रणालीका नतिजा प्रकाशनमा ठोस निर्णय लिएर अर्को सेमेष्टर पढ्ने वातावरण तत्काल निर्माण गर्नुपर्ने, त्रिवि सेवा आयोगलाई निष्पक्ष, विश्वसनीय र सम्मानित बनाउनुपर्ने बताएको छ । नेविसङ्घले बन्द रहेको पठनपाठन वैकल्पिक माध्यमबाट सुरुआत गर्नुपर्ने, विद्यार्थीको निम्ति निःशुल्क इन्टरनेट व्यवस्था गर्न त्रिविले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नुपर्ने, अनलाइन कक्षालाई दीर्घकालीन बनाउनुपर्ने, परीक्षासम्बन्धी विद्यार्थीको उजुरी सुन्न छुट्टै उच्चस्तरीय निकाय गठन गर्नुपर्ने बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले भने, “विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामा आँच आउने गरी वर्तमान सरकारबाट भएका सबै निर्णय रद्द गर्नुपर्छ ।” विश्वविद्यालयले शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नलिनसमेत नेविसङ्घले आग्रह गरेको छ । यस्तै, त्रिविको नाममा रहेको अतिक्रमित जग्गा तुरुन्त फिर्ता ल्याउन पहल गर्नुपर्ने बताएको छ । नेविसङ्घले विश्वविद्यालयको परीक्षा प्रणालीलाई पूर्णत प्रविधिमैत्री, समयानुकूल र वैज्ञानिक बनाउनसमेत माग गरेको छ ।