पु.समाचार

उपत्यकामा आजपनि थपिए ४२ कोरोना सङ्क्रमित, किन बढ्दैछ काठमाडौंमा !

२६ असार, काठमाडौं । नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १२० छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ११ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४८ दशमलव एक प्रतिशत निको भएको उनले बताए ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ८०५ जनाको पीसीआर नमूना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७५ हजार ९५१ जनाको परीक्षण भएको छ । हाल क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेशनमा आठ हजार ६०३ जना रहेका छन् । मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी छ वटा जिल्ला कोरोना मुक्त भएका छन् । पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला छ वटा छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रवक्ता डा गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गरे ।

उपत्यकामा थपिए ४२ सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।