पु.समाचार

कांग्रेस कोरोना समितिले यातायात/पर्यटन व्यवशायी/चेम्बरसँग गर्यो छलफल

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपामा आज बिहान नेपाली कांग्रेसले गठन गरेको कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले गरेको छलफलमा नेपाल यातायात व्यावसायी महासंघको टोलीले यातायात व्यावसायीहरुले आफ्ना गाडिहरु महिनौं सम्म ग्यारेजमा थन्काएको र ति गाडीहरु मर्मत गरेर मात्रै चलाउने अवस्थामा भएको भन्दै मर्मतका लागि पुनःकर्जा, गाडी चालक र सहचालकलाई कोरोना बिमा, गाडी चालक र सहचालकलाई स्वास्थ्य समाग्री पनि ब्यवस्थापन सरकारले गरे मात्रै यातायात संचालन गर्न सकिने बताएका छन्।

उनीहरुले लकडाउन समयको किस्ता स्थगन गर्नुपर्ने पनि माग राखेका छन्। त्यस्तै उक्त समितिले आजै विभिन्न चेम्बरहरु सँग पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त छलफलमा सहभागी विभिन्न चेम्बरका प्रतिनिधिहरुले पनि असार मसान्तसम्म हामीले बैंकको ब्याज र किस्ता तिरिसक्नु पर्ने तर मौद्रिक नीति चाहिँ किन साउन ७ गते ल्याउने भनेर नेपाल ट्रेड युनियन कांग्रेसका सदस्यहरुले प्रश्न उठाए। आजै कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले नेपालमा क्रियाशिल पर्यटन ब्यवसायीहरुसँग पनि कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव बारे पनि छलफल गरेको छ।

उक्त छलफलमा पर्यटन व्यावसायीहरुले प्रधानमन्त्री राहत कोशलाई पर्यटन पवर्धनमा खर्च गर्न सरकारलाई सुझाव दिन कांग्रेसको समितिलाई आग्रह गरेका छन् । उनीहरुले कोभिड–१९ को प्रभाव यहि अवस्था अझै एक महिना लम्बिने र सरकारले पर्यटन क्षेत्रमा कुनै राहत नल्याउने हो भने पर्यटन व्यावसायीले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्छ भन्दै चेतावनी समेत दिए। सरकारले अब चार पाँच दिनमा पर्यटन क्षेत्रमा सुधारका निम्ति कदम नचाले आफुहरु सडक आन्दोलनमा जाने पनि पर्यटन व्यावसायीहरुले बताए।