समाचार

मुलुकको विभिन्न स्थानमा भारी वर्षाः नदीमा बाढी आउन सक्ने हुँदा तटीय क्षेत्रमा सतर्क रहन आग्रह

२६ असार काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ ।

कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ । कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

त्यस्तै बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार र आसपासमा भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ । नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

नारायणी जलाधारको नबलपरासी, चितवन, तनहूँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घण्टामा भारी वर्षा मापन गरिएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउँन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । यस्तै आज काठमाडौं उपत्यकामा बिहानैदेखी भारी वर्षा भईरहेको छ ।