खेलकुद

राखेपका सदस्य–सचिव ढकालको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन

२६ असार काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य–सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेको छ ।

मन्त्रालयले हाल खेलकुद विभाग महाशाखाका प्रमुख समेत रहनुभएका ढकालको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको हो ।

समितिलाई एक महिनाभित्र नयाँ ऐनको कार्यादेश बनाउन मन्त्रालयले निर्देशन दिएको छ । उक्त समितिका सदस्यहरुमा मन्त्रालयको प्रशासन शाखा प्रमुख सागर रोक्का, आर्थिक प्रशासन शाखा प्रमुख नवराज घिमिरे र कानुनी शाखाका प्रमुख सिम्जा डङ्गोल छन् ।

यस्तै उक्त समितिमा राखेपको एक जना प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट एक जना तथा एक जना विज्ञ रहने व्यवस्था गरिएको छ ।

खेलकुद विकास ऐन, २०७७ कार्यान्वनयमा आएपछि नियमावली मस्यौदा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता मानबहादुर विकेले बताए । समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी नियमावली बनाउने छ । नयाँ खेलकुद विकास ऐन, २०७७ यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेका हुन् ।