खेलकुद

म्यान्चेष्टर युनाईटेडको प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि शानदार जित

एजेन्सी । ब्रुनो फर्नान्डेस प्रेरित म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो ।

आले गुनर सोल्सायर नेतृत्वको युनाईटेडले पछिल्लो समय उत्कृष्ट लयलाई कायम राखेको छ । युनाईटेडले आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ । र चौथो स्थानको लेस्टर सिटीसंगको दुरी एक अंकमा झारेको छ । पछिल्लो जितले युनाईटेडले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई समेत बलियो बनाएको छ ।

फर्नान्डेसले २७ औं मिनेटमा पेनाल्टीमा युनाईटेडलाई अग्रता दिलाएका थिए । एजरी कोन्साको फलमा प्राप्त पेनाल्टीमा फर्नान्डेसले युनाईटेडलाई अघि बढाएका हुन् ।

पहिलो हाफको ईन्जुरी समयमा मासन ग्रिनउडले युनाईटेडको अग्रता दोब्बर बनाए । पाउल पोग्बाले ५८ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । एन्थोनी मार्टियलको क्रसमा पोग्बाले युनाईटेडकालागि तेस्रो गोल गरेका थिए ।

लिगमा चार चरणको खेल बाँकी रहदाँ पाँचौ स्थानको युनाईटेडले ५८ अंक जोडेको छ । एस्टनभिल्ला २७ अंक सहित पुछारदेखि दोस्रो स्थानमा छ । अर्को खेलमा एटर्भन र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्य भागमा रहेका दुवै क्लबले १–१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमा ड्यानी इग्सको गोलबाट साउथह्याम्टनले खेलमा अग्रता बनाएको थियो । ४३ औं मिनेटमा रिचार्डलिसनले एभर्टनका लागि बराबरी गोल फर्काएका थिए । एभर्टन ४५ अक सहित ११ औं स्थान र साउथह्याम्टन ४४ अंक सहित १२ औं स्थानमा उक्लिएका छन् ।