समाचार

बाढीले बगायो सिंचाइ कुलोः एक हजार रोपनी खेत बाँझै

२५ असार, सल्यान । पश्चिमी क्षेत्रमा बाढीले सिंचाइ कुलो बगाउँदा एक हजार चार सय रोपनी खेत बाँझो हुने देखिएको छ । केही दिनदेखि परेको अविरल वर्षाले वनगाड कुपिण्डे नगरपालिका –२ लाहाघाटको कुलो बगाएपछि रोपाइँ गर्न गरी तयारी गरिएका खेतसमेत बाँझै हुने निश्चित भएको छ ।

विसं २०४४ मा निर्मित कुलामा टाटेपहरको पहिरो आउँदा पक्की सिंचाइ कुलो तहसनहस भएको स्थानीयवासी ओठे रानाले जानकारी दिए । “कुलोमै बाढी पसेपछि ठाउँठाउँमा पहिरो जानाका साथै सिंचाइ कुलो तहसनहस भएको छ, तत्काल मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि ११० घर परिवारको खेत बाँझै हुने देखिएको छ”, रानाले भने ।

यस क्षेत्रमा ३३ वर्षपछि यति ठूलो पानी परेको हो । सिंचाइ कुलो बिगारेपछि कृषक चिन्तित हुन थालेका छन् । “अब न अरु कुनै बाली लगाउन सकिन्छ न तत्काल कुलो मर्मत गरेर रोपाइँ गर्न सकिन्छ, कोरोनाले मरिएन, अब भोकमरीले त मरिने होला,” पीडित किसान जीवन रानाले भने ।

बाढीले गाउँमा जाने पाइपसमेत बगाएपछि गाउँमा खानेपानीको समस्या भएको रानाले बताए ।“खेतमा धानको ब्याड रोप्ने भइसकेको छ, पानी नभएपछि अब कसरी रोपाइँ गर्नू रु खानेपानीको समेत गाउँमा हाहाकार भएको छ”, उनले भने ।

बाढीले सिंचाइ कुलो बगाउँदा सिङ्गो गाउँ नै भोकमरीमा पर्ने खतरा रहेको वनगाड कुपिण्डे नगरपालिका २ का वडाध्यक्ष प्रतिमल बुढाले जानकारी दिने ।“ खेतमा धान रोपाइँ गर्ने अर्को कुनै विकल्प नभएको, सिंचाइ कुलो बाढीले तहसनहस पारेकाले मर्मतसम्भार गर्ने अवस्था नभएको र यसले अब पूरै गाउँमा नै खाद्यसङ्कट आउने वडाध्यक्ष बुढाले चिन्ता व्यक्त गरे ।

अहिलेसम्म आफूले यति ठूलो बाढी आएको नदेखेको र एक्कासि बाढी तथा ठाउँठाउँमा पहिरो आएर सिंचाइ कुलो भत्काएको वडाध्यक्ष बुढाले जानकारी दिए । सिंचाइ कुलो भत्किएपछि रोपाइँका लागि तयारी अवस्थामा रहेको धानको व्याडसमेत सुक्न थालेको छ ।

तत्काल खानेपानी तथा सिंचाइ कुलो मर्मतका लागि वैकल्पिक उपाय नगरेकाले नगरपालिकाभित्रकै सबैभन्दा बढी खेतीयोग्य जमीन बाँझै रहने अवस्था देखिएको प्रभावित कृषकले बताएका छन् । तत्काल कुलो मर्मत हुन नसके पनि कुनै वैकल्पिक उपाय गरेर खेत बाँझो नरहने गरी सहयोग गर्न किसानले आग्रह गरेका छन् ।