सामाजिक सञ्जाल

डा भट्टराई भन्छन्ः भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हो

२५ असार काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र हरेक पार्टीको कर्तव्य भएको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक भएपनि राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुने बताए ।

सांसद सरिता गिरिले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएको हुनाले पार्टीले कारबाहि गरेको विषयमा विभिन्न टिप्पणीहरु हुन थालेका बेला भट्टराइको यस्तो अभिव्यक्ति आएको हो ।

भट्टराईले संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतः दण्डको भागी हुने भन्दै यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक नहुने बताएका छन् ।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेदेखी त्यस्को बिरोध गर्दै आएकी थिईन र सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि संशोधन राखेकी थिइन । जसको सर्वत्र विरोध भएपछि पार्टीले उनलाई कारबाहि गर्न बाध्य भएको थियो ।

उनको ट्वीटः विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक हो।तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक/पार्टीको कर्तव्य हुन्छ । झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतः दण्डको भागी हुन्छ । यहाँ क्षेत्ररलिंगको कुरा गर्नु सान्दर्भिक हुन्न ।