खेलकुद

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा इंग्ल्यान्डको सामान्य सुरुवात

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन बुधबार सामान्य सुरुवात गरेको छ । साउथह्याम्पटनको एजेस बाउलमा पहिलो दिनको खेल समाप्तिमा इंग्ल्यान्डले १७ ओभर ४ बलमा १ विकेट गुमाएर ३५ रन बनाएको छ ।

खराब मौसमको कारण ढिला सुरु भएको खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, इंग्ल्यान्डले ब्याटिङ गरिरहदा पटक पटक खेल वर्षाले प्रभावित बनेको थियो । वर्षाले प्रभावित गरेको खेलमा इंग्ल्यान्डका ओपनर डम सिब्ली सुन्य रनमा आउट भएका थिए । उनी शानोन गार्ब्रियलको बलमा आउट भए ।

तर, इंग्ल्यान्डका रोरी ब्रुन्स २० तथा जोइ डेन्ली १४ रन बनाएर क्रिजमा रहेका छन् । दुई टिमबीचको खेलसँगै कोरोना भाईरसको महामारीको कारण मार्चबाट रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि फर्किएको हो । खेल अघि दुवै टोलीले रंगभेदविरुद्धको आवाजलाई समर्थन गर्दै घुँडा टेकेर सांकेतिक विरोध जनाएका थिए ।

दुवै टिमको जर्सीमा ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा लेखिएको छ । अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंगभेदी व्यवहारविरुद्धको आन्दोलन सुरु भएको थियो । जसमा खेलाडीहरुले समेत समर्थन गरिरहेका छन् ।