बाग्मती

एकनाले भरुवा बन्दूकसहित दुई पक्राउ

२४ असार, विदुर । नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ । तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ ।