कृषि

कृषि विकासका लागि सिँचाइ र कृषि सडकमा जोड

२४ असार, सल्यान । सल्यानमा सिँचाई तथा कृषि सडकमा विशेष जोड दिएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा कृषिजन्य वस्तुको उत्पादन अभिवृद्धि गरी निर्यात गर्ने उद्देश्यले सिँचाई तथा कृषि सडकमा विशेष जोड दिएको हो । यसका लागि चालु आर्थिक वर्षमा रु ७ करोडभन्दा बढी खर्च भएको छ ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड ५ लाख खर्च भएको हो । जिल्लाका सवै स्थानीय तहमा २५ वटा साना तथा मझौला सिँचाई कुलो र २४ वटा कृषि सडक निर्माण गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।
“जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका सिँचाई कुलोमा ४ करोड १५ लाख र कृषि सडकमा २ करोड ९० लाख खर्च भएको छ”, उनले भने । जिल्लाका सवै वस्तीहरुलाई सडक सञ्जालसँग जोडेर उत्पादित कृषिजन्य उपजलाई बजारसम्म पु¥याउन सहज हुने भएकाले कृषि सडक विस्तारको काम गरिएको उनको भनाइ छ ।
कृषि विकास कार्यालयका अनुसार कालीमाटी गाउँपालिकामा चार, छत्रेश्वरी गाउँपालिकमा चार, त्रिवेणी गाउँपालिकामा दुई, बनगाड कुपिण्डे नगरपालिकामा दुई र दर्मा गाउँपालिकामा दुई वटा सिँचाई कुलो निर्माण भएको छ । त्यस्तै कुमाख गाउँपालिकामा दुई, सिद्ध कुमाखमा दुई, वागचौर नगरपालिकामा दुई, शारदा नगरपालिकामा तीन र कपुरकाट गाउँपालिकमा तीन वटा सिँचाई कुलो निर्माण गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
सिँचाई तथा सडक निर्माणमा कुल वजेटको १० प्रतिशत सम्बन्धित लाभग्राही क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान अनुसार स्थानीयवासीको मागका आधारमा बीउबिजन तथा कृषिजन्य औजार उपकरण खरिद गरेर वितरण गरिएको सो कार्यालयले जनाएको छ । जिल्लामा गत आर्थिक वर्षमा कृषि सडक निर्माणका लागि रु ३ करोड ४७ लाख ७८ हजार खर्च भएको थियो ।