पु.समाचार

पटक–पटक स्थगीत हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

२४ असार काठमाडौं । पटक–पटक स्थगीत हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

नेकपाभित्र चर्किएको विवादका कारण यसअघि बैठक स्थगीत हुँदै आएको हो । सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक-पटक छलफल भएपनि कुनै निष्कर्श निकालिएको छैन ।

यसअघि सोमबारका लागि तय भएको स्थायी कमिटीको बैठक आज (बुधबार) सम्मका लागि स्थगित भएको थियो । पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारको स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ । नेकपामा पछिल्लो समय पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओलीको चर्काे बिरोध भईरहेको छ ।