राजनीति

अध्यक्ष राणाको आक्रोसः बहुमत प्राप्त सरकारबाट यस्तो गाइजात्रा कहिलेसम्म ?

२३ असार काठमाडौं । राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा कोरोना संकट बढिरहँदा ओली सरकार भने आन्तरिक किचलोमा रुमलिएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष राणाले मुलुकभर कोरोना संक्रमितको संख्या १६ हजार पुग्न थालेको र उपत्यकामा संक्रमण समुदायस्तरमा पुग्यो भन्ने चिन्ता बढीरहेको तर नेकपा भित्रको चरम आन्तरिक कलहको कारण कोभिड–१९ विरुद्धको नेपाली संघर्ष बाटो भूलेको यात्रीसरह भएको भन्दै कटाक्ष गरेका छन् ।

उनले बहुमत प्राप्त सरकार बाट यस्तो गाइजात्रा कहिलेसम्म ? भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले नेकपा भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुग्दा मन्त्रिपरिषद्लाई यो डरलाग्दो स्वास्थ्य संकटबारे छलफल गरी दह्रो कदम चाल्न फुर्सद नभएको र सोहि कामको जिम्मा पाएको सीसीएमसी निर्देशन समितिले संक्रमणको समीक्षा गरी सही निर्णय नै लिन नसकेको भन्दै सरकारको यो गैरजिम्मेवार व्यवहार कति दिन चल्ने भन्दै आक्रामक टिप्पणी गरेका छन् ।

उनको ट्वीटः संक्रमितको संख्या १६ हजार पुग्न थाल्यो। उपत्यकामा संक्रमण समुदायस्तरमा पुग्यो भन्ने चिन्ता बढीरहेको छ। तर नेकपा भित्रको चरम आन्तरिक कलहको कारण कोभिड–१९ विरुद्धको नेपाली संघर्ष बाटो भूलेको यात्रीसरह भएको छ। बहुमत प्राप्त सरकार बाट यस्तो गाइजात्रा कहिलेसम्म ?

नेकपा भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुग्दा न त मन्त्रिपरिषद्लाई यो डरलाग्दो स्वास्थ्य संकटबारे छलफल गरी दह्रो कदम चाल्न फुर्सद छ, न त यही कामको जिम्मा प्राप्त सीसीएमसी निर्देशन समितिले संक्रमणको समीक्षा गरी सही निर्णय नै लिन सकेको छ।सरकारको यो गैरजिम्मेवार व्यवहार कति दिन चल्ने ?